बालाचतुर्दशी : कैलाश चौरमा बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने



काठमाडौं।पशुपति क्षेत्र विकास कोषले बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका निम्ति सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । कोषले बालाचतुर्दशीका अवसरमा दीप प्रज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ ।

आफ्ना दिवंगत पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढंगले कार्य सम्पन्न गर्नेसम्मको व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले बताए ।

कोषले ढुङ्गा छापेको ठाउँमा शतबीज नछर्न र वृक्षरोपण गरेको ठाउँ र बिरुवाको संरक्षण गर्न तथा बालबालिकाको साथमा परिचयपत्र राख्न आग्रह गरेको छ । कोषले कैलाश चौरमा पाल राखी बत्ती बाल्न नपाइने तर शतबीज भने छर्न पाइने जनाएको छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोरक्षेत्र, हंशमण्डप, चौरसहित वाग्मती नदीको खाली किनारामा व्यवस्था गरिएको जनाएको छ ।
उनले भने,-“नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका लागि कोर क्षेत्रमा शतबीजमार्ग र बत्ती बाली बस्ने स्थानमा पर्याप्त सुरक्षाकर्मी खटाइने भएको छ ।”

कोषले पर्व, मेला र विशेष अवसरमा चोरीका घटना पनि हुन सक्ने सभावनालाई मध्यनजर गरी बहुुमूल्य गरगहना लगाएर नआउन पनि भक्तजनलाई आग्रह गरेको छ । छालाको जुत्ता पनि नलगाइदिन अनुरोध गरिएको छ । (सांकेतिक तस्बिर)

प्रतिक्रिया दिनुहोस्