नेकपा एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा झुलाघाटबाट सुरु



धनगढी । नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु भएको छ ।

अध्यक्ष ओलीले आज नेपाल–भारतको सीमावर्ती बजार झुलाघाटबाट नेपालको राष्ट्रिय झण्डोत्तोलन गरेर यात्राको उद्घाटन गरेका हुन् ।

नेकपा एमाले सुदूरपश्चिम अध्यक्ष कृष्ण प्रसाद जैशीका अनुसार झुलाघाटबाट सुरु भएको सङ्कल्प यात्रा मध्य पहाडी लोक मार्गमा तीन सातासम्म चल्नेछ । पुष्पलाल राजमार्ग नामकरण गरिएको मध्य पहाडी राजमार्गको लम्बाइ करिब एक हजार ८७९ किलोमिटर रहेको छ । पुस २ गते पाँचथरको चिवा झञ्ज्याङमा पुगेर यात्रा समापन हुने सुदूरपश्चिम अध्यक्ष जैशीले जानकारी दिए ।

यस यात्राले मुलुकको समृद्धिको नयाँ पाटाहरू पहिचान हुने दाबी गरिएको छ । सबै ठाउँका जनतालाई भेट्ने, राजमार्गले पार्ने प्रभावका विषयमा जानकारी दिने र प्रेरित गर्ने, मौलिक उत्पादनको बजारीकरण गर्ने, जिल्लाका व्यापारिक ठाउँहरूको सम्भावना भएको क्षेत्रहरूमा विकास र समृद्धिबारे बहस गरिने भएको छ ।

यसैबीच प्रत्येक जिल्लामा एउटा ठूलो सभाको आयोजना गर्ने र त्यसबाट जनतालाई मध्य पहाडी राजमार्गको महत्व र सान्दर्भिकता दर्साउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्