स्वास्थ्यमन्त्री बस्नेत माफियाको नाईके भएको डा. गोबिन्द केसीको आरोप
काठमाडौं । प्राडा गोविन्द केसीले स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेत माफियाको नाइके भएको बताउदै पद मुक्त गर्नुपर्ने माग राखेका छन्।

डा केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मापदण्ड नपुगेका र विगतमा ऐनविपरीत संचालन गरेका शिक्षालयहरूलाई दण्डित गर्नुको सट्टा ऐनविपरीत सम्वन्धन दिलाउन सम्बन्धित सरकारी निकायहरूलाई दबाब दिनु गैरकानुनी र खेदपूर्ण कार्य हो। यसले के प्रमाणित गर्छ भने देउवा र प्रचण्डजीका स्वास्थ्य मन्त्री माफियाहरूका नाइके हुन् र उनी मन्त्री पदमा रहिरहनु लोकतान्त्रिक मूल्यमान्यता को बर्खिलाप हो। निजलाई तत्काल पदमुक्त गरियाेस्।’
यस्तै उनले स्वास्थ्यमन्त्री बस्नेतसँग स्वास्थ्यसम्बन्धी ज्ञान, अनुभव नभएको र उनले जान्ने प्रयाससमेत नगरेको आरोपसमेत लगाएका छन। ‘ठूला मुखे गैरजिम्मेवार, भ्रष्ट र गवाँर व्यक्तिलाई स्वास्थ्यमन्त्री बनाएर प्रचण्ड र देउवा, स्वास्थ्य मन्त्रालयजस्तो संवेदनशील संस्थाको थप भ्रष्टीकरण गरी जनताको स्वास्थ्यमा खेलवाड गर्दैछन्, यो राजनीतिक तथा सामाजिक अपराध हो’ डा केसीले भनेका छन्।
यस्तै, केसीले अधिकांश ग्रामीण क्षेत्रका मानिसहरू स्वास्थ्य सेवाबाट बन्चित भएको, निःशुल्क औषधि सेवा उपलब्ध हुन नसकेको, हजारौँ स्वास्थ्यकर्मीहरु बेरोजगार रहेको, श्रम शोषण रहेको, सरकारी स्वास्थ्य संस्थाको संख्यामा खासै वृद्धि नभएको, चार दशकअघिकै दरबन्दीमा स्वास्थ्य केन्द्र र अस्पताल संचालन गर्ने बाध्यता रहेको डा. केसीले उल्लेख गरेका छन् । उनले चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा एक सरकारी मेडिकल कलेज वा प्रतिष्ठान २०८० सम्म निर्माण कार्य सम्पन्न गरी संचालन आइसक्नुपर्नेमा त्यसलाई समेत रोकिएको, सरकारी प्रादेशिक अस्पतालहरू नर्सिङलगायतका कार्यक्रमहरु सञ्चालन गर्न मापदण्ड यथेष्ट पूरा भए पनि वास्ता नगरिएको भन्दैं स्वास्थ्यमन्त्रीलाई ती कामहरु गर्न समेत आग्रह गरेका छन् ।
आफ्ना माग पूरा नभए डा केसीले मंसिर २९ गतेदेखि थप कडा मागसहित सत्याग्रह सुरु गर्नेसमेत बताएका छन्।
शनिबार स्वास्थ्यमन्त्री बस्नेतले राष्ट्रिय ट्रमा सेन्टरको वार्षिकोत्सवमा डा. गोविन्द केसी मेडिकल माफियाद्वारा सञ्चालित भएको बताएका थिए।

