कार्यकाल पूरा हुन ३ दिनमात्र बांकी हुँदा पाकिस्तानमा संसद् भंग
एजेन्सी।पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री शहबाज शरीफसँगको सिफारिसमा मध्यराति संसद् भंग गरेका छन् ।

संसद्को तल्लो सदनको ५ वर्षे कार्यकाल पूरा हुनुभन्दा ३ दिनअघि संसद् भंग गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
संविधानको धारा ५८ अनुसार संसद् भंग गरिएको छ । प्रधानमन्त्री शरीफले संसद् विघटनका लागि राष्ट्रपति अल्वीलाई सिफारिस गरेका थिए ।
संविधानअनुसार अब ३ दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नाम तय हुनेछ । प्रधानमन्त्री शरीफ र प्रतिपक्षी दलका नेताले कामचलाउ प्रधानमन्त्री तय गर्नेछन् । प्रधानमन्त्रीको नाममा सहमति नभए संसद्का सभामुखले गठन गरेको समितिसामु मामिला पठाइनेछ । समितिले ३ दिनभित्र कामचलाउ प्रधानमन्त्री तय गर्ने प्रावधान छ । समितिले पनि नाम तय गर्न नसकेमा प्रधानमन्त्रीका दाबेदारको नाम निर्वाचन आयोगमा पठाएर आयोगले अन्तिम निर्णय लिनेछ ।
यसअघि बुधवार संसद्को बिदाइ सत्रलाई प्रधानमन्त्री शरीफले सम्बोधन गरेका थिए । उनले कामचलाउ प्रधानमन्त्रीबारे बिहीवार विपक्षी दलका नेता राजा रियाजसँग छलफल गर्ने जनाएका थिए ।

