मन्त्री नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला पुगिन रञ्जिता, कारागारका कैदी भेटेर भइन कार्यक्रममा सहभागी
काठमाडौं। गत चैत्र १७ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरी पहिलो पटक आफू निर्बाचित भएको कैलाली कैलाली—१ पुगेकी छन् ।

मन्त्री नियुक्त भएलगत्तै सुरुमा मन्त्रालय मातहतका कार्यालयहरुका कर्मचारीहरुसँग अन्तरक्रिया र आवश्यक निति योजनाहरु बनाउने काममा व्यस्त भएकी उनी शुक्रबार गते पहिलो पटक सुदुरपश्चिम प्रदेश पुगेकी हुन् । विमान मार्फत निर्वाचन क्षेत्र पुगेकी उनी धनगढी बिमानस्थल ओर्लिए लगत्तै मन्त्री श्रेष्ठ जिल्ला कारागार कैलाली पुगेकी हुन् । सचिवालयका अनुसार त्यहाँ जाने पुर्वनिर्धारित कार्यक्रम भने थिएन् ।तर, मन्त्रीले कारगार जाउँ भनेपछि सचिवालयले उनलाई कारागारसम्म पुर्यायो । उनले त्यहाँ पुगेर टिकापुरको थरुहट आन्दोलनमा दोषि ठहरिएर कैदीबन्दी जीवनयापन गरिरहेका राजबन्दीलाई भेटिन् ।
पार्टी स्थापनाको छोटो समयमा नै नेतृत्व लिँदै उनी सांसद बनिन् । श्रेष्ठ कैलालीको टिकापुर घटनाका मुख्य कमाण्डर रेशम चौधरीकी धर्मपत्नी हुन् । थरुहट आन्दोलनका कमाण्डर चौधरी अहिले डिल्ली बजार कारागारमा कैदीबन्दीका रुपमा छन् ।
तर, सोही आन्दोलनको जगमा स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले स्थानीय, प्रदेश र केन्द्र सरकारमा आफ्नो प्रतिनिधित्व गरिरहेको छ । जसको नेतृत्व अहिले रन्जिताले गरिरहेकी छिन् ।
सचिवालय सदस्यले रमेश बिकले भने, ‘उहाँले धरातल बिर्सनु भएको रहेनछ । आफु स्थापित भएको जग बिर्सनु भएको रहेनछ । आफुलाई मन्त्री बनाउने, पार्टीलाई स्थापित गराउनेहरुका योगदान बिर्सनु भएको रहेनछ भन्दै राजबन्दीहरु खुसी हुनुभयो र आफुहरुलाई रिहाईका लागि थप पहल गर्न अनुरोध गर्नुभयो ।’
राजबन्दीहरुको कुरा सुनेपछि मन्त्री श्रेष्ठले रिहाईका लागि सरकारसँग पटकपटक बार्ता गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने संकेत देखिएको बताएको बिकले सुनाए । कारागारमा राजबन्दीहरुलाई भेटेपछि मात्रै मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रका मतदाता तथा आम जनताहरुलाई भेटघाट तथा पुर्वनिर्धारित कार्यक्रममा अघि बढेकी थिईन् ।
मन्त्री श्रेष्ठले गौरिगङ्गा नगरपालिकाका मुक्तकमैया, कमलरीहरुलाई आफ्नै पालामा जमिन उपलब्ध गराउने प्रतिबद्धता दिईन् । यस्तै कैलालीका मुक्तकमैया शिबिरमा भेटघाटका साथै कमैयाहरुलाई सम्बोधन तथा भूमी सम्बन्धी समस्याको समाधान गर्ने प्रतिबद्धता गरिन् ।यस्तै मन्त्री श्रेष्ठले रानिजमरा कुलरिया सिचाइ आयोजनाका कार्यकारी निर्देशकलाई भेटेर आयोजनाको बारेमा जानकारी लिँदै छिटो भन्दा छिटो काम सम्पन्न गर्न निर्देशन दिईन् ।
मन्त्रीले कैलालीको धनगढीमा रहेको जिल्ला मालपोत तथा नापी कार्यालयको निरीक्षण गरि सेवाग्राहीहरुलाई सहज र सरल सेवा सुबिधाका दिन कर्मचारीलाई निर्देशन दिईन् ।

