तामाका डालीको बिक्रि घटेपछि ब्यापारीहरु निराश
सोलुखुम्बु।सोलुदुधुकुण्ड नगरपालिका ५ सल्लेरीका सुवास विश्वकर्माले गतवर्षको तुलनामा यस वर्ष तामाका डालिको व्यापारमा कमी आएको बताउनुभएको छ । गतवर्ष दशैँको सिजनमा हप्तामा मात्रै करिव दुई लाख रुपैयाँको बिक्री गरेको बताउने सुवास विश्वकर्मा यस वर्ष ५० हजार रुपैयाँको बिक्री गर्न समेत धौ धौ परेको बताउनुहुन्छ ।

दशैको सिजनमा धेरै बिक्रि गर्ने आशाले बिहानै बजार आउनुभएका सुवास आफुले भनेको जति डालिको व्यापार नहुँदा निराश भएको बताउनुहुन्छ ।
यस्तै सोलुदुधकुण्ड नगरपालिका ५ सेर्गाका प्रेम कुमार विश्वकर्मा पनि तामाका डालि र भाँडाहरुको व्यापारमा कमी आएको गुनासो गर्नुहुन्छ । गत वर्ष दशैको अघिल्लो हप्ता करिव दुई लाख रुपैयाँको डालिहरु बिक्री भएको बताउने प्रेम कुमार यस वर्ष २० हजार रुपैयाँको पनि बिक्री नभएको उहाँको भनाइ छ ।
आर्थिक मन्दि साथै महंगी बढेकाले ग्राहकहरुले माग कम गरेको हुन सक्ने व्यापारीद्धय बताउछन । आफुहरुले तामाका कच्चा पदार्थ काठमाडौंमा महँगो शूल्कमा किन्नुपर्ने साथै महंगो भाँडा तिरेर ल्याउनुपर्ने बाध्यता रहेको व्यापारीहरुको भनाइ छ ।
यता ग्राहकहरु भने तामाको डालि महंगो भएको कारण किन्न नसकेको बताउँछन । पहिला १५ सय रुपैयाँमा आउने डालि अहिले २५०० रुपैयाँमा किन्नका लागि समस्या भएको ग्राहकहरुको गुनासो छ ।
अहिले बजारमा तामाका डालि प्रतिकिलोग्राम दुई हजार ५०० रुपैयाँ, छुसम प्रतिकेजी तीन हजार रुपैयाँमा बिक्री भइरहेको तामा व्यापारीद्धयको भनाई छ ।

