यस्तो रहेछ आईतवार सार्बजनिक बिदा दिइनुको अन्तर्य




काठमाडौं ।सरकारले आईतवारका लागि सार्बजनिक बिदाको घोषणा गर्‍यो।रामनवमीका अवसरमा भन्दै घोषणा गरिएको यो बिदाका कारण हिन्दु धर्मावलम्बीहरु खुसी पनि भए।तर पर्बलाई कारण देखाएर सार्बजनिक बिदा दिइए पनि यो राजनीति प्रेरित बिदा हो भन्ने कुराको खुलासा बिस्तारै हुँदै गएको छ। माधव नेपाल पक्षधर १४ जना साँसदको वैधानिकतासम्वन्धी मुद्दाको पेशी सार्न सरकारले अनावश्यकरुपमा आईतवार सार्वजनिक विदा दिएको बताईएको छ।

यसअघि पनि पटक पटक सर्दै आएको यो मुद्दा यही चैत २० गतेलाइ तोकिए पनि हेर्न नभ्याइने भन्दै भोलि आइतबारलाई सारेका थिए । तर भोलिको पेशी पनि सार्वजनिक विदाको नाममा सारेर अर्को एक महिनापछिको मिति कायम गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

केन्द्र सरकारले चैत दशैंमा पहिला विदा दिने गरे पनि राम नवमी भनेर विदा दिने चलन छैन् । चैते दशैं आज शनिबार नै पर्छ । राम नवमी तराईमा विशेषरुपमा बनाइने भएकाले मधेस प्रदेशले विदा दिने गरे पनि केन्द्र सरकारले चैते दशैंमा नभई राम नवमीमा विदा दिनुका एउटै उद्देश्य जसरी हुन्छ माधव नेपाल पक्षधर सांसादहरुको भविश्यसम्वन्धी मुद्दा लम्ब्याउनु भएको स्रोतले बतायो ।

यो मुद्दामा हुने फैसलाले आउँदो स्थानीय निर्वाचन हुने नहुने कुरा पनि निर्धारण हुनेथियो । तर अदालतमा राजनीतिक प्रभाव र चलखेल बढ्दै जाँदा मुद्दाहरुको पेशीदेखि फैसलासमेत त्यसको असर देखिने गरेको छ । स्रोतको भनाई छ, ‘भोलिको विदाको उद्देश्य अरु केही नभएर विशुद्धरुपमा केपी ओलीले दर्ता गरेको माधव नेपाल पक्षधर साँसदहरुको कानुनी वैधताको मुद्दालाई पर धकेल्नु हो ।’

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने माधव नेपालको मुद्दा प्रभावित पार्न नभई धर्मसंस्कृतिको जगेर्ना गर्न रामनवमीमा विदा दिएको तर्क गरे । उनले विगत केही बर्षदेखि चैत दशैंमा विदा दिन छोडेको पनि स्वीकार गर्दै यस पटकबाट रामनवमीमा विदा दिन सुरु गरिएको बताए ।

इद, लोसार जस्ता पर्वको मिति पहिले नै तय नहुने भएकाले तत्कालै विदा दिने पछिल्ला बर्षहरुमा चलन रहँदै आएको छ । तर तिथी पहिले नै निश्चित हुने पर्वहरुमा दिइने विदाको पात्रो सरकारले पहिले नै सार्वजनिक गरेको हुन्छ । उक्त पात्रोमा रामनवमीमा विदा दिने कुरा उल्लेख छैन् । रामनवमीमा विदा दिने कुरा हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि खुशीको कुरा भए पनि आइतबारको विदा त्यसका लागि नभई राजनीतिक उद्देश्यबाट प्रेरित रहेको र यसले अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने स्रोतको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्