निर्बाचन आचारसंहितामा यस्ता छन् एमालेका असहमति
काठमाडौ ।नेकपा एमालेले निर्बाचन आयोगमा निर्वाचनमा आचारसंहिताप्रति प्रतिबद्धतासहित पार्टीको धारणा लिखित रूपमा बुझाएको छ । बिहिवार आयोगमै पुगेर एमाले महासचिव शंकर पोखरेलले सो धारणा बुझाएका थिए।

एमालेले आचारसंहिताको दफा ४ को उपदफा (थ)मा भएको व्यवस्थाप्रति असहमति जनाएको छ ।दफा ४ को उपदफा (थ)मा भएको प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्त गर्न, आफ्नो दलको पक्षमा मत माग्न र उम्मेद्वार स्वयंलाई प्रचार गर्न निषेध गरेको देखिएको निष्कर्ष एमालेको छ ।
आचारसंहिताको दफा ४ को उपदफा (थ)मा ‘निर्वाचनलाई प्रभाव पार्नेगरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने,’ भन्ने व्यवस्था गरिएको छ ।
आचारसंहिताको सो प्रावधानले दलहरूका विचार, नीति, कार्यक्रमको तुलना गरी श्रेष्ठतम् दल रोज्ने जनताको संवैधानिक हकलाई समेत कुण्ठित गर्ने दाबी एमालेको छ । एमालेले सो प्रावधानमा पुनर्विचार गरिनुपर्ने मागसमेत गरेको छ ।
यस्तै, प्रधानमन्त्री, मन्त्री तथा कुनै पनि तहको कार्यपालिकाको सदस्यले आफ्नो निर्वाचन क्षेत्रबाहेक कुनै दलको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाउने भन्ने आचारसंहिताको प्रावधान पनि अनुपयुक्त भएको एमालेले आफ्नो धारणामा उल्लेख गरिएको छ ।
निर्वाचन आयोगले २२ चैतमामा स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई आचारसंहितामा प्रतिबद्धता जनाउन बैठक बोलाएको थियो । सो बैठकमा सहभागी भए पनि एमालेले आचारसंहिताको प्रतिबद्धतापत्रमा सोही कारण हस्ताक्षर नगरी फर्केको थियो ।

