सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइन दिल्लीबाट उद्घाटन

काठमाडौ । सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ ।

शुक्रबार देखी भारत भ्रमणमा रहनुभएको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका हुन् ।
सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो । नेपाल सरकारको लगानी र भारतीय निर्यात–आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो ।
सोलु करिडोर प्रसारणलाइन आयोजना अन्तर्गत तिङ्लामा १३२/३३ केभी, ३० एमभीए र ३३/११ केभी, ८ एमभीए क्षमताको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसन निर्माण सम्पन्न गरी ७ भदौ २०७६ बाट सञ्चालनमा छ । अहिले तिङ्ला सबस्टेसनबाटै सोलुखुम्बु, ओखलढुंगा र खोटाङमा विद्युत आपूर्ति हुन थालेको छ ।
आयोजनाहरुको विद्युत् सोलु करिडोरमा प्रवाह भएपछि मिर्चैयाबाट पूर्वतर्फ पठाएर सप्तरी, सुनसरी, मोरङलगायतका जिल्लामा आपूर्ति दिन सकिन्छ भने बढी भएको विद्युत ढल्केबर सबस्टेसनबाट भारततर्फ निर्यात गर्न पनि सजिलो भएको छ । तिङ्ला सबस्टेसनबाट विद्युत आपूर्ति दिइने हुँदा अब सोलुखुम्बु, ओखलढुंगा र खोटाङको विद्युत सेवा भरपर्दो र गुणस्तरीय हुने साथै चुहावट पनि घट्ने अपेक्षा छ ।

