पत्रकार महासंघको ६७औँ स्थापना दिवसमा स्वास्थ्यमन्त्री खतिवडाले गरे यस्तो प्रतिबद्धता
काठमाडौं । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

स्थापना दिवसका अवसरमा महासंघले बुधबार प्रभातफेरी निकालेको छ । सिनामंगलबाट सुरु भएको प्रभातफेरी सञ्चारग्राममा पुगेर समापन भएको थियो ।
यस्तै, महासंघको केन्द्रीय कार्यालयमा रक्तदान र निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
स्थापना दिवसका अवसरमा बिहीबार आयोजित कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले महासङ्घको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए ।
सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दा श्रमजीवी पत्रकारका लागि रु सात लाखसम्मको दुर्घटना बीमा गरी प्रिमियमको ५० प्रतिशत रकम नेपाल सरकारले व्यहोर्ने व्यवस्था मिलाइने उनको भनाइ छ ।

