उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व



काठमाडौं। उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ। बिहिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन भएको हो।

बुधबार साँझ अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिएका ब्रतालुहरूले आज बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएका छन्।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा नदी, तलाउ र पोखरीका किनारमा भक्तजनहरू रातभर जाग्राम बसेका थिए ।

कात्तिक शुक्ल षष्ठी र सप्तमीका दिन सूर्यलाई विशेष विधिपूर्वक अर्घ्य दिएर छठ पर्व मनाइन्छ। ‘सँझिया घाटे’ भनिने षष्ठीको दिनलाई छठको मुख्य दिन मानिन्छ।

छठपूजामा सूर्य भगवान् र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ। पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाइन्छ।

प्रतिक्रिया दिनुहोस्