परमादेश जारी गर्ने सबै न्यायाधीशले राजीनामा गर्नुपर्छ : शंकर पोखरेल



काठमाडौं।लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित संवैधानिक इजलासका सबै न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन् ।

नेकपा एमालेका नेता रहेका पोखरेल संसद ब्युँताउन र सरकार बनाउन परमादेश दिने प्रधानन्यायाधीश सहित पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका हुन् । उनले प्रधानन्यायाधीशको मात्रै राजीनामा माग्नु गलत भएको भन्दै उनको मतियार बनेका अन्य न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बिहीबार घोराहीमा आयोजित पत्रकारहरू सम्मेलनमा बताए ।

प्रधानन्यायाधीशको राजीनामा माग्दै सर्वोच्च अदालतका न्यायाधीश एवं अधिवक्ताहरु नै आन्दोलित भइरहेका बेला यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि उक्त परमादेश दिने सबै न्यायाधीशले सामुहिक राजीनामा दिनुपर्ने बताएका थिए ।

प्रधानन्यायाधीश राणाले मन्त्रिपरिषद तथा राजदूत नियुक्ति लगायत विषयमा भाग खोजे आरोप लागेपछि उनको राजीनामा माग भइरहेको छ । प्रधानन्यायाधीश स्वयंले पनि आफू कसैले माग्दैमा राजीनामा नदिने, कि त सबै न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले परमादेश जारी गरेपछि संसद ब्युँतिएको थियो भने सोही आदेशका बलमा गत असार २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्