बंगलादेशमा भइरहेको हिन्दूहरुमाथिको आक्रमण बन्द गर्न नेपाल जनता पार्टीको माग

काठमाडौं।नेपाल जनता पार्टीले मुस्लिम राष्ट्र बगलादेशमा हालको दिनमा हिन्दू मन्दिर र हिन्दूहरुमाथि भएको बर्बरतापूर्ण आक्रमणको भत्सर्ना गर्दै बंगलादेशका हिन्दू लगायत अन्य धार्मिक अल्पसंख्यक समूहलाई धार्मिक अतिवादीहरुबाट सुरक्षाको ग्यारेन्टी प्रदान गर्न शेख हसीना वाजेद नेतृत्वको सरकारसंग आग्रह गरेको छ।

‘बंगलादेशमा हिन्दू विरोधी धार्मिक अतिवादीहरुले कैयौं हिन्दू÷बौद्ध मन्दिर ध्वंस पारेका छन्, पवित्र मूर्तिहरु तोडफोड गरेका छन्, आतंकपूर्ण हमलामा कैयौं घर तोडफोड गरिएको छ’- ‘पार्टीका वरिष्ठ नेता सिद्धार्थ गौतमले एक बिज्ञप्ति प्रकाशित गर्दै भनेका छन् -यस क्रममा ३० जना हिन्दूहरुको हत्या पनि भएको छ । हिन्दू धर्मावलम्वी विरुद्धको यस बर्बरतापूर्ण आक्रमणको श्रृंखला तत्काल रोक्न, हिन्दू मन्दिरहरुलाई सुरक्षा दिन बंगलादेशी सरकारसंग माग गर्दछौं।’
बंगलादेशी हिन्दूहरु माथिको आक्रमण धार्मिक आस्था माथिको स्वतन्त्रता र अन्ततः प्रजातन्त्र माथिकै आक्रमण भएको उल्लेख गर्दै गौतमले यस प्रकारको घटना यदि रोकिएन भने प्रजातन्त्रप्रेमी विश्व समुदायले बंगलादेशलाई माफ गर्ने छैनन् भन्ने शेख हसीना सरकारले बुझ्नु उचित हुने चेतावनी दिएका छन् ।’ यसप्रकारको अल्पसंख्यक विरुद्धको घटनाले अन्य देशमा रहेका अल्पसंख्यक इस्लाम धर्मावलम्वीहरुमाथि प्रतिक्रिया हुन सक्ने कुरा पनि बुुझ्नु जरुरी छ, बिज्ञप्तिमा भनिएको छ।
हिन्दुहरुमाथि यस्तो बर्बर आक्रमण हुँदा पनि कुनै प्रतिक्रिया नजनाई मौन समर्थनको मुद्रामा बस्ने नेपाल सरकार, सरकारभित्र र बाहिर रहेका राजनीतिक दलहरु, कथित नागरिक समाज र हिन्दुत्वको कथित नारा लगाएर राजनीति गर्ने व्यक्ति तथा समूहहरुप्रति पनि नेपाल जनता पार्टीले तीव्र आक्रोश व्यक्त गरेको छ। यस घटनाले उनीहरुको हिन्दू विरोधी र धर्म विरोधी असली अनुहारलाई उदाङ्ग पारेको मात्र छैन धार्मिक आतंकवाद तथा धार्मिक द्वन्द्वको आगोमा स्वार्थको रोटी सेक्न पछि नहट्ने चरित्र स्पष्ट पारेको उल्लेख गर्दै बिज्ञप्तिमा भनिएको छ-धर्मप्रेमी तथा धार्मिक सद्भावनामा विश्वास राख्ने सम्पूर्ण नेपाली जनताले यसका निम्ति समय क्रममा उनीहरुलाई प्रत्यक्ष दण्डित गर्नेछन्।
नेपाल जनता पार्टी हिन्दु–बौद्ध र अन्य धार्मिक अल्पसंख्यकहरुको पक्षमा, धार्मिक सद्भाव र शान्तिको पक्षमा रहेको छ प्रस्ट पार्दै यस क्रममा सम्पूर्ण नेपाली जनताको भावनालाई प्रतिनिधित्व गर्न सदा अग्रसर एवं सक्रिय रहने बिज्ञप्तिमा उल्लेख गरिएको छ।

