स्थायी कमिटी बैठक: एकता कार्यदल भंग गर्ने एमाले स्थायी समितिको निर्णय

काठमाडौँ ।नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदल भंग गरिएको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले विवाद समाधान गर्न गठित कार्यदल विघटन गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । उनकाअनुसार कार्यदलले बुझाएको सहमति प्रस्तावलाई बैठकले ग्रहण र अनुमोदन गरेको छ । बैठकले कार्यदललाई धन्यवाद दिएको समेत उनले बताए ।

पार्टी विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्षबीच १० सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले लामो समय लगाएर १० बुँदे प्रस्ताव तयार पारेको थियो । कार्यदलमा केपी शर्मा ओली पक्षबाट सुवास नेम्वाङको संयोजकत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल र नेपाल समूहबाट भीम रावल संयोजकत्वमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त रहेका थिए ।

