इलाम उच्च अदालतकी महिला कर्मचारी पराजुलीको हत्या असईले गरेको खुलासा

काठमाडौं ।उच्च अदालत विराटनगर, इलामकी महिला कर्मचारीको हत्या आरोपमा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन्। असई युवराज बानियाँले अदालतकी कार्यालय सहयोगी ४८ वर्षीया विमलादेवी निरौलाको हत्या गरेको खुलेको छ।

उच्च अदालत विराटनगरको इलाम इजलासमा कार्यरत निरौलाको हत्या आरोपमा असई बानियाँलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए।
उच्च अदालत विराटनगरमा मुख्य न्यायाधीशको सुरक्षा गार्डका रूपमा रहेका ३५ वर्षे बानियाँले घाँटी थिचेर निरौलाको हत्या गरेको प्रहरीले जनाएको छ। निरौलाको शव कार्यालयको पछाडिपट्टि बलेंसीमा सोमबार बिहान साढे ७ बजे फेला परेको थियो। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी पराजुलीको शव कार्यालय पोसाकमै भेटिएका थियो। घटना अनुसन्धान क्रममा प्रहरीले पक्राउ गरी सोधपुछ गर्दा बानियाँले आफूले हत्या गरेको स्वीकारेको एसपी श्रेष्ठले बताए।

