थुलुङदुधकोशीका नेता कार्यकर्तासंग सोलु कांग्रेस एकता अभियानको छलफल
काठमाडौं। नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न हुने स्थानीयस्तरको अधिबेशनबाटै आन्तरिक द्वन्द्वलाई समाप्त पारेर सोलुखुम्बुमा पार्टीलाई सशक्त ढंगले अगाडी बढाउने उद्देश्यका साथ सोलुखुम्बु कांग्रेसका प्रभावशाली नेता प्रकाशसिंह कार्कीले सुरु गर्नुभएको बिशेष अभियानले शनिबार पनि निरन्तरता पाएको छ।

सोलुखुम्बु जिल्लाका ८ वटा स्थानीय तहमध्ये ३ वटा स्थानीय तहका नेता तथा कार्यकर्ताहरुका बीच पार्टी अधिबेशनको सन्दर्भमा छलफल तथा अन्तरक्रियालाई यस अघि नै सम्पन्न गरिसक्नु भएका नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्य कार्कीले शनिबार जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका काठमाडौंमा उपलब्ध नेता- कार्यकर्ताहरुसंग छलफल आयोजना गर्नुभएको छ।
लामो समयदेखि गुट उपगुटमा बिभाजित भएर निरन्तर अगाडी बढ्दै जांदा जिल्लामा पार्टीको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएकोप्रति कार्यकर्ताहरुले चिन्ता व्यक्त गरिरहंदा सुरु गरिएको यो अभियानले जिल्लामा कांग्रेसको संगठनलाई सशक्त र मजबुत बनाउन महत्त्वपूर्ण भूमिका निर्बाह गर्ने बिश्वास छलफलमा सहभागी थुलुङदुधकोशीका कांग्रेस नेता- कार्यकर्ताहरुले व्यक्त गरेका छन् ।
कमलपोखरीस्थित हुकुम दरबार होटलमा सम्पन्न छलफल तथा अन्तरक्रियामा पूर्व सांसद गोकर्ण राई,कांग्रेस आदिवासी जनजाति बिभागका केन्द्रीय सदस्य आङ छिरिङ शेर्पा, कांगेस सोलुखुम्बुका नेताहरु राम बहादुर बस्नेत, हुत्तराज बस्नेत ,महिला संघ केन्द्रीय सदस्य डोल्मा तामाङ युबा नेता दिनराज बास्तोला ,नेबि संघ पुर्व केन्द्रिय सदस्य गिता गुरुङ , तरुण नेता शेखर बस्नेत ,पार्टी जिल्ला कार्य समिति सदस्य बिमल बस्नेत र नेताहरू बेदबहादुर बन,ग्याल्जेन शेर्पा , मिलन राई ,केशव राइ ,लाक्पा राई ,चर्ण राई ,शान्ति बस्नेत ,उत्तम गुरुङ ,हेब बहादुर खड्का ,लाक्पा तेम्बा शेर्पा , रामकुमार गिरि ,महेन्द्र गुरुङ ,भक्त गुरुङ ,कृष्ण राई ,मनकुमार तामाङ ,सौरव बरुवाल ,जाङ्बु शेर्पा लगायत सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा आफ्नो संक्षिप्त मन्तब्य व्यक्त गर्दै नेता कार्कीले कांग्रेसको गौरबमय इतिहासलाई पूनर्जीबित गर्नका लागि सोलु कांग्रेसका सम्पूर्ण नेता-कार्यकर्ताहरुले पुन एक पटक विवेकको प्रयोग गर्नुपर्ने बेला आएको बताउनुभयो। यो वा त्यो कोहि नभनि बिशुद्द कांग्रेसको झण्डा मुनि सबै कार्यकर्ताहरु गोलबद्द हुन सकेको खण्डमा सोलुमा कांग्रेसलाई कहिल्यै कसैले हराउन नसक्ने भन्दै वहाँले आगामी जिल्ला अधिबेशनबाट गुट-उपगुट अन्त्य घोषणाका लागि सबै तयार हुनुपर्ने धारणा राख्नु भयो ।पार्टीलाई एकजुट बनाएर लैजानका लागि आफुसहित जिम्मेवार तहका अन्य नेताहरु पहिले देखि नै निरन्तर पहल गरिरहेको स्पष्ट पार्दै वहाँले सोलुखुम्बु कांगेस क्रमशः एकताको बाटोमा अघि बढिरहेको दाबी गर्नुभयो ।
छलफल कार्यक्रममा कांग्रेस जनजाति बिभागका केन्द्रीय सदस्य आङछिरिङ शेर्पाले १४ औं जिल्ला अधिबेशन सोलुखुम्बु कांग्रेसका लागि एकताको महाधिवेशन हुनुपर्ने धारणा राख्नुभयो। पार्टीले अहिलेसम्म जिल्लामा ब्यहोर्नुपरेको क्षतिका लागि सबैले आत्मालोचना गरेर अगाडी बढ्ने हो भने जिल्लामा पार्टीको भविष्य सुन्दर रहेको वहाँको भनाइ थियो ।
नेता रामबहादुर बस्नेतले पार्टीसंगै कार्यकर्ताहरुको भविष्य समेत जोडिएकाले ब्यक्तिगत स्वार्थसिद्दिका लागि कांग्रेसलाई कमजोर बनाउने अधिकार कसैलाई पनि नभएको बताउनुभयो।कांग्रेसलाई बलियो बनाउने साझा संकल्प सबैले गर्ने हो भने ब्यक्ति गौण हुने भन्दै वहाँले यसलाई गम्भीरतापूर्बक लिएर सबै अगाडि बढनुपर्ने बताउनु भयो।
संबिधान सभा सदस्य गोकर्ण राईले कांग्रेस भित्रको आन्तरिक गुटबन्दीले धेरै नेता कार्यकर्ताहरुको राजनीतिक भविष्य अन्यौलमा परेको भन्दै यसलाई चिरेर अगाडी बढ्नुको विकल्प नरहेको धारणा राख्नुभयो।
नेपाल महिला सघकी केन्द्रीय सदस्य डोल्मा तामाङले पार्टीको भविष्य कस्तो बनाउने भन्ने कुरा कार्यकर्ताहरुको हातमा रहेको बताउंदै वहाँले कार्यकर्ता नेतामुखी नभई नीतिमुखी भए कांग्रेस भित्रका सारा बिकृतिको अन्त्य आफैं हुने बिचार व्यक्त गर्नुभयो ।
नेता कार्कीकै आयोजनामा यस अघि लिखुपिके , महाकुलुङ र नेचासल्यान कांग्रेसका नेता-कार्यकर्ताहरुबीच अन्तरक्रिया सम्पन्न भएको कांग्रेस युबा नेता दिनराज बांस्तोलाले जानकारी दिनुभयो ।

