एमाले एकतालाई आजै पूर्णता दिने गरि कार्यदलमा छलफल जारी

काठमाडौं । नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै राति सम्ममा सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताएका छन् ।

आज कार्यदलको बैठक दिउँसोदेखि जारी छ । सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिदैँ कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढंगले अगाडि बढेको भन्दै आजै रातिसम्ममा सहमति हुनसक्ने दाबी गरे ।
‘मस्यौदामा छलफल गर्यौँ । मस्यौदामा हामीलाई लागेका सुझावहरु दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरुलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्याउने प्रयत्न छ’ उनले भने, ‘पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले अगाडी बढाउन सकिन्छ भन्ने केही बुँदाहरुमा हामीले आफ्ना धारणाहरुलाई सहमतीका साथ बनाउने प्रयत्न गरेका छौँ । साथीहरुले राखेका भावना, धारणा र विचारहरुलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ । सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ । छलफल चलिरहेको छ । त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ ।’
कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ । नेताहरुले हरेक दिन सहमतीको नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन् ।

