नेपाली सेनाले गर्यो प्रहरीलाई हतियार हस्तान्तरण

काठमाडौं, २१ असार । नेपाली सेनाले नेपाल प्रहरीलाई हतियार हस्तान्तरण गरेको छ । सोमवार जंगी अड्डामा आयोजित कार्यक्रमबीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोका एम्युनिसन र सम्बद्ध सामग्री हस्तान्तरण गरे ।

नेपाल प्रहरीलाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रम सञ्चालन गर्ने प्रयोजनका लागि भनेर नेपाल सरकार मन्त्रिपरिषद्को जेठ १७ गतेको निर्णय बमोजिम नेपाली सेनाले कुनै पनि मूल्य नलिई हतियार हस्तान्तरण गरेको छ ।
हस्तान्तरण गरिएका सामग्रीमा विभिन्न प्रकारका राइफल र मशिन गनहरू गरी जम्मा १० हजार ८१८ नाल र सोको एम्युनिसन गोटा १४ लाख ९४ हजार १६ रहेका छन् ।
हतियार तथा एम्युनिसन ३ चरणमा उपलब्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिसन २०७९ वैशाख महिनासम्ममा हस्तान्तरण गरिने छ भने उपलब्ध गराइएका हतियारहरुको मर्मत र प्रयोग तालिम समेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ । यसबाट नेपाल प्रहरीको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायबीचको सम्बन्ध समेत बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ । कार्यक्रममा बलाधिकृत रथी प्रभूराम शर्मा, रथीवृन्द तथा प्रहरी अतिरिक्त महानिरीक्षकको समेत उपस्थिति रहेको थियो ।

