बुधबारदेखी ठूलो पानी पर्ने पूर्बानुमान,सतर्क रहन मौसमबिद्हरुको आग्रह



काठमाण्डौ। भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले भोलिदेखि मौसम सक्रिय भइ प्रदेश(१, प्रदेश(२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने महाशाखाको पूर्वानुमान छ । देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको सम्भावनासमेत रहेको छ । नदी तथा खोलानालामा पानीको सतह बढ्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले अलिअलि मात्र सक्रिय मनसुन भोलिदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो ।

भोलिदेखि १९ गतेसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोशी, नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश(१, प्रदेश(२, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्