महाकाली नदीमा पानीको वहाव बढेसंगै तटीय क्षेत्रमा खतरा



धनगढी । अबिरल वर्षासँगै महाकाली नदीमा औसत भन्दा बढी पानी सतह बढेको छ । महाकाली नदीमा पानीको सतह बढेपछि कञ्चनपुरको भीमदत्त नगरपालिकाको केही बस्ती डुबानमा परेको छ ।

महाकाली नदीमा आएको बाढीले भीमदत्त नगरपालिका १२ स्थित ऐरी घाटको बस्ती डुबानमा परेको हो । ऐरी बस्तीको १० घर डुबानमा परेको र उद्दारको तयारीमा रहेको भीमदत्त नगरपालिका १३ का वडा अधयक्ष लालबहादुर शाहीले जानकारी दिए ।

महाकाली नदीमा पानीको बहाब उच्च भएपछि महाकाली नदीमाथि निर्माधिन ४ लेन पुलको ड्याम समेत भत्काएको छ । ड्याम भत्काएपछि आवातजावात बन्द भएको वडा अध्यक्ष शाहीले बताए । बाढी प्रभावित क्षेत्रमा भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र बिष्टसहितको जनप्रतिनिधिहरुको टोली पुगेको छ ।

नदीमा पानीको बहाव बढ्ने क्रममा रहको बताइएको छ । हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणको लागि उद्दार टोलीलाई उच्च सतर्कताको अवस्थामा राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । महाकाली नदीमा पानीको स्तर शनिबार साझ १ लाख ७५ हजार क्वीसेक मापन गरिएको थियो । सामान्यतया महाकाली नदीमा ४० हजार क्वीसेक पानी बढेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शुक्रबार अति जरुरी सूचना भन्दै नदी तटीय क्षेत्रमा सतर्कता अप्नाउन अपिल जारी गरेको छ । कञ्चनपुर प्रहरी प्रबक्ता डीएसपी अमरबहादुर थापाले पहाडी जिल्लामा वर्षा भइरहेको कारण महाकाली नदीमा निरन्तररुपमा पानीको सतह बढ्दै गइरहेको बताए ।

डीएसपी थापाका अनुसार नदीमा पानीको उच्च बहाव बढेपछि निर्माणाधीन महाकाली पुलमा लगाइएको माटोको ड्याम पनि काट्न थालेको छ भने नदी क्षेत्रका बासिन्दालाई सुरक्षित साथ बस्न आग्रह गरिएको छ ।

डीएसपी थापाले सम्भावित खतरालाई ध्यानमा राखेर मातहतका प्रहरीलाई हाइअलर्टमा बस्न निर्देशन दिदै सोहीअनुसारको पूर्वतयारी गरिएको र नदी क्षेत्रमा गस्तीका लागिसमेत छुट्टै प्रहरी टोली खटाइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्