चौतर्फी बिरोधपछि प्रदेश सांसद नरोत्तमले लिए आफ्नो अभिव्यक्ति फिर्ता

काठमाडौं, २९ जेठ । बागमती प्रदेश सांसद नरोत्तम वैद्यले शुक्रबार प्रदेश सभामा बोलेको विवादित अभिव्यक्ति फिर्ता लिएका छन् । शनिबारको प्रदेश सभा बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित आफ्नो अभिव्यक्ति आपत्तिजनक र संसदीय मर्यादा विपरीत भएको महसुश गरेको भन्दै फिर्ता लिएको बताए । साथै उनले आफ्नो अभिव्यक्ति फिर्ता लिँदै रेकर्डबाट हटाउन सभामुखलाई अनुरोध गरेका छन् ।

‘हिजो मैले संसदको रोष्टममा उभिएर प्रतिक्रिया दिने क्रममा सम्मानीय प्रधानमन्त्रीज्यू प्रति लक्षित प्रयोग भएका केही शब्दहरू आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको मैले महसुश गरेको छु, शनिबारको बैठकमा लिखित वक्तव्य वाचन गर्दै उनले भनेका छन्, ‘सम्मानीय प्रधानमन्त्री माथि मैले दिएको अभिव्यक्तिप्रति मेरो संसदीय दलले फिर्ता लिन निर्देशन गरेको र मैले आफैले पनि आफूले बोलेको कुरा कुटनीति र संसदीय मर्यादा विपरीत रहेको महसुश गरेको छु ।’


