जनतालाई प्राथमिकतामा राखेर काम गर्न नेपाली नेतालाई चिनियाँ नेताको आग्रह

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)अन्तर्गत अन्तर्राष्ट्रिय विभाग र नेपालका विभिन्न राजनीतिक पार्टी नेताबीच भर्चुअल बैठक भएको छ । नेपाल कारोना महामारी दोस्रो लहरसँग जुधिरहेका बेला दुई देशका पार्टीबीच छलफल भएको हो ।

नेपालका नेताले चीनको सहयोगका लागि ‘धन्यवाद’ दिँदै थप सहयोग अपेक्षा गरेका छन् । चीनले कोरोना महामारी नियन्त्रणमा प्राप्त सफलताको प्रशंसा गर्दै नेपालका नेताले स्वास्थ्य सामग्री सहयोग आशा गरेका छन् ।
‘महामारीविरुद्ध संयुक्त संघर्ष तथा जनजीवन रक्षा, नेपाल–चीन राजनीतिक पार्टीबीच महामारीविरुद्ध संयुक्त लडाइँ’ विषयक बैठकमा सीपीसीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ थाओले ‘कोरोना महामारी विश्वव्यापी संकट भएको’ बताउँदै ‘सबै मुलुक मिलेर सामना गर्नुपर्ने चिनियाँ धारणा रहेको’ बताए । जनताको सुरक्षा र स्वास्थ्य विशेष ध्यान दिने पार्टीको नीति रहेको पनि उनले सुनाए । नेपालका नेताले पहिलो प्राथमिकता जनतालाई महत्व दिनुपर्ने सुझाव उनले दिएका छन् ।
‘नेपालीको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोनामुक्त गरी अर्थतन्त्र पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्य जरुरत छ’
सोङ थाओले महामारी नियन्त्रणका लागि चार उपाय सुझाएका छन् । पार्टी नेतृत्वमा जनजीवन प्राथमिकतामा राख्नुपर्ने, चुनौती सामना गर्न एकीकृत समन्वय, मनमन जोडेर शक्तिसाथ जुट्नुपर्ने र दृढ योजना अघि सार्न सके कोरोनालाई जित्न सकिने सुझाव दिएका छन् । उनले चिनियाँ पार्टीका तर्फबाट नेपाललाई सहयोग उपलब्ध गराउने घोषणासमेत गरे ।
बुधबार सम्पन्न छलफलमा नेपालको तर्फबाट उपप्रधानमन्त्री समेत रहेका एमाले नेता ईश्वर पोखरेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेपाली कांग्रेसका नेता डा. नारायण खड्का,जनता समाजबादीका उपेन्द्र यादव र राष्ट्रियसभाका उपाध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहभागी थिए। छलफल मा सहभागी नेपाली नेताहरूले हरेक संकटपूर्ण घडीमा चीनको सहयोग प्रशंसनीय रहंदै आएको बताउंदै कोरोना महामारी नियन्त्रणका लागि थप खोप र स्वास्थ्य सामाग्री उपलब्ध गराउन आग्रह गरेको बताईएको छ।

