नेचासल्यान : गाउँपालिका अध्यक्ष बास्तोलाको सक्रियता प्रशंसनीय रहेको स्थानीयको भनाई



खगिन्द्रराज बास्तोला
सोलुखुम्बु ।सुबास बास्तोला नेचासल्यान गाउँपालिका-४ का स्थायी बासिन्दा हुन।पेशाले स्वास्थ्यकर्मी उनी कोरोना संक्रमणले त्रसित स्थानीयको सेवामा जुट्दा जुट्दै आफैं संक्रमित भए।सुरुमा अवस्था सामान्य भएपनि संक्रमण पुष्टि भएको दुई दिनपछि उनलाई श्वासप्रश्वासमा समस्या भयो।

परिवारले गाउँपालिकाको स्वास्थ्य शाखालाई खबर गरे।खबर गरेको केहि छिनमै अक्सिजन सिलिन्डरसहित आवश्यक सामाग्री लिएर स्वास्थ्यकर्मीको टोलीसहित गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोला उनको घरमा पुगे।स्वास्थ्यकर्मीले अक्सिजन मेसिन जडान गरेपछि सुबासलाई श्वासप्रश्वासमा सहजता आयो।अहिले उनलाई खासै त्यस्तो समस्या छैन।उनी बिस्तारै कोरोनालाई परास्त गरेर तङ्ग्रने क्रममा छन् ।

गाउँपालिका अध्यक्ष बांस्तोलासंगै पुगेका स्वास्थ्यकर्मीहरुले अक्सिजन जडान गरेर फर्किएपछि छोराको स्वास्थ्यमा आएको सहजताले सुबासका पिता रोहित बास्तोला खुसी नहुने कुरै भएन।गाउँकै जालपा आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेका बास्तोलाले तत्कालै सामाजिक संजाल फेसबुकमा लेखे,- ‘सांच्चै सिंहदरबार गाउँमै रहेछ ,जनताको ज्यानको सुरक्षा हुंदो रहेछ भन्ने आभास आज मलाई भयो।’उनले अगाडी लेखेका छन्-‘छोरो सुबासलाई स्वास्थ्यमा असहजको खबर पाउंनासाथ स्वास्थ्यकर्मीसंग गापा अध्यक्षकै उपस्तिथिमा अक्सिजन मेसिन तत्काल जडानले निकै ठुलो राहत मिलेको छ।’

यो त प्रतिनिधि उदाहरणमात्रै हो।कोरोनाको दोश्रो भेरियन्ट सुरु भए यता स्थानीयको स्वास्थ्य सुरक्षाका लागि स्थानीय सरकारले देखाएको सक्रियता र निर्बाह गर्दै आएको भूमिकाको नेचासल्यानबासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन्।’संकटको बेला नेतृत्वको पहिचान हुने हो’ कोरोनाको नयाँ भेरियण्ट संक्रमणका कारण होम आइसोलेसनमा बसिरहेका कानुन ब्यबसायी चुंडा कटेलले भने,- ‘पालिका अध्यक्षले अहिले जुन चिन्ता र चासोका साथ संक्रमितहरुको स्वास्थ्य सुरक्षाका लागि भूमिका निर्बाह गरिरहनु भएको छ,त्यो कम प्रशंसनीय छैन।’

त्यस्तै नेबिसंघका नेता द्रोण बास्तोलाले पनि संक्रमित भएर आफु होम आईसोलेसनमा रहंदा स्वास्थ्य अवस्था बुझ्न गाउँपालिका अध्यक्ष र वडा नं २ का वडाध्यक्ष भेषकुमार बास्तोला पटकपटक घर आएको भन्दै सामाजिक सन्जालबाटै उनीहरूप्रति आभार प्रकट गरेका छन।

नेचासल्यानमा कोरोना संक्रमणको दोश्रो लहर सुरु भएयता १६९ जनाको एन्टिजेन परीक्षण गर्दा मंगलबारसम्ममा ५९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।ती मध्ये ३५ जना त सल्यान टारीमा एउटा विबाह भोजमा सहभागी भएकाहरु छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहे पनि काठमाडौं र जिल्ला सदरमुकाम सल्लेरीतिरबाट भित्रिएको संक्रमणका लक्षण अलि कडा देखिएको गाउँपालिकाको वडा नं ३ स्थित स्वास्थ्यचौकीका इन्चार्ज मेघराज (कुमार) कटेलले रहस्य खबरलाई बताए।

 

नेचासल्यान गाउँपालिकाले स्वास्थ्यमा समस्या देखिए तत्काल गाउँपालिकामा सम्पर्क गर्न यस अघि नै सूचना जारी गरेको थियो। त्यही सूचनाका आधारमा स्थानीयले खबर गरेपछि स्वास्थ्यकर्मीहरुको टोलि आवश्यक स्वास्थ्य सामाग्रीसहित बिरामीको घरमा पुग्ने गरेको उनले बताए । बिरामीको अवस्था र लक्षणका आधारमा एन्टीजेन परीक्षण गर्ने गरिएको छ कट्टेलले भने,- ‘संक्रमण पुष्टि भएका अधिकांश संक्रमितहरुको अवस्था अहिलेसम्म सामान्य नै छ।’

संक्रमण फैलिएसंगै गाउँपालिकाका वडा नं २,४ र ५ मा अहिले आवागमन बन्द छ। संक्रमितहरुको सतर्कता र आफन्तहरुको सचेतताले पनि ठूलो काम गरिरहेको गाउँपालिका अध्यक्ष बास्तोला बताउंछन्। शंका लागेको अवस्थामा गाउँपालिकाले तत्काल कण्ट्याक्ट ट्रेसिङ गर्ने गरेका कारण पनि संक्रमण फैलन नपाएको दावी उनको छ।’शहरी क्षेत्रबाट गाउँ फर्कनेहरुबाट संक्रमण भित्रिएन भने अब पालिकाभित्र संक्रमितहरुको संख्या घट्दै जाने अनुमान हामीले गरेका छौं’,- बास्तोलाले भने।

संक्रमणको आशंका गरिएका र संक्रमण पुष्टि भएका बिरामीहरुसंग आफू नियमित सम्पर्कमा रहेको बास्तोलाले बताए।आईसोलेसनमा बसेका संक्रमितहरुको अवस्था बुझ्न सम्भव भएसम्म आफैं घर-घरमा पुग्ने गरेको बताउंदैअध्यक्ष बास्तोलाले भने,- आफू घरमा पुग्न तत्काल सम्भव भएन भने फोन सम्पर्कबाट परामर्श लिएर आवश्यक स्वास्थ्य उपकरण र औषधिसहित स्वास्थ्यकर्मीहरुलाई पठाउने गरिएको छ।’

संक्रमित ब्यक्तिमा जटिल समस्या आए अन्यत्र लैजान गाउँपालिकाले सवारीसाधन तयारी अवस्थामा राखे पनि अहिलेसम्म त्यस्तो अवस्था नआएको बास्तोलाको भनाई छ।गाउँपालिकाको स्वास्थ्य शाखासंग अहिलेको अवस्थालाई धान्न सक्ने पर्याप्त स्वास्थ्य सामाग्री, १२ वटा अक्सिजन कन्सन्ट्रेटर र १० वटा अक्सिजन सिलिन्डर रहेको जानकारी दिंदै उनले थप अक्सिजन सिलिन्डरको ब्यबस्थाका लागि पालिकाले पहल गरिरहेको जानकारी दिए ।

अध्यक्ष बास्तोलाले पालिकाका ५ वटै वडाका वडाध्यक्ष सदस्यहरु,राजनीतिक नेतृत्व, रेडक्रस,उद्योग बाणिज्य संघ,स्वास्थ्यकर्मी,शिक्षक र कर्मचारी सबैको सचेतनामूलक पहल कदमी भइ रहेकाले छिट्टै कोरोना नियन्त्रणमा आउने बिश्वास पनि व्यक्त गरेका छन।

फाईल फोटो

प्रतिक्रिया दिनुहोस्