राष्ट्रपतिलाई विवादमा मुछ्न खोजिएको प्रधानमन्त्री ओलीको आरोप



प्रधकाठमाडौं।प्रधानमन्‍त्री केपी ओलीले बाहिर हल्ला गरिएजस्तो संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको स्पष्ट पारेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम फैलाउन खोजिएको आरोप लगाएका हुन् । प्रधानमन्त्री ओलीले नयाँ सरकार बनाएर अन्योल अवस्थाको अन्त्य गर्न राजनीतिक दललाई आग्रह गरे ।

नयाँ सरकार गठनका लागि आफ्नो रचनात्मक समर्थन रहने भन्दै उनले सरकार गठन गर्न नसके आफुलाई समर्थन गर्न आह्वान पनि गरे । उनले नयाँ सरकार गठनको सिफारिसका बिषयमा कृत्रिम, नाटकीय व्याख्याहरू हुने गरेको पाइएको जिकिर गरे ।

उनले राष्ट्रपतिलाई विवादमा मुछ्न खोजिएको भन्दै सरकारले गरेको सिफारिसको जिम्मा आफुले लिने धारणा राखे । प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत पाउने अवस्था नभएको र विश्वासको मतको प्रक्रियामा जाँदा बजेट प्रभावित हुने भएकाले संविधानको धारा ७६ (५) अन्तर्गतको नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको स्पष्टीकरण दिए ।

उनले माधवकुमार नेपाल समूहका २७ जना सांसदले संसदमा अनुपस्थित भएर अनुशासनहीन, अनैतिक र अपराधिक काम गरेको बताए । दलभित्रैबाट विपक्षी सँग मिलेर सरकार ढाल्न खोजेको र आफुमाथि पटक पटक चरित्र हत्या गर्ने प्रयास भएकाले अर्को सरकार गठनको प्रक्रिया सुरु गर्न सिफारिस गरिएको उनले बताए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत पाउदिन भन्दा भन्दै संसदमा किन आएको भनेर विपक्षी दलहरुले उल्टै प्रश्न गरेको गुनासो गरे । आफूले चाहेर होइन संविधानले आफूलाई प्रधानमन्त्री बनाएको ओलीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्