पार्टी उम्मेदवारबिरुद्ध मतदान गर्ने जनप्रतिनिधिको क्रियाकलाप क्षमा दिन योग्य नरहेको एमालेको ठहर



काठमाडौं, जेठ ६ । नेकपा एमालेले राष्ट्रियसभा उपनिर्वाचनमा पार्टी उम्मेदवार रामबहादुर थापालाई मत नहाल्ने नेता–कार्यकर्ता/जनप्रतिनिधिको भर्त्सना गरेको छ ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पार्टी निर्देशन अवज्ञा गर्ने नेता र पार्टी उम्मेदवारको विपक्षमा मतदान गर्ने जनप्रतिनिधिको क्रियाकलाप क्षमा दिन योग्य नरहेको निष्कर्ष निकालेको हो।

बिहीबार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा माधव नेपाल पक्षका जनप्रतिनिधिहरुले पार्टी उम्मेदवार थापाका विपक्षमा मत हालेको बारे छलफल गर्दै निन्दा गरिएको हो ।

प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले पार्टीविरोधी गतिविधि र पार्टी निर्देशनविरुद्ध मतदान गर्ने प्रवृत्तिको भर्त्सना गरेको र यो घटनालाई क्षम्य मान्न नसकिने निर्णय गरेको हो ।

विभाजन उन्मुख पार्टीका विवाद समाधानका लागि दुबै पक्ष सम्मिलित कार्यदल बनेपछि पनि पार्टी निर्णयमा उभिनु सामान्य नभएको उहाँको भनाइ थियो ।

ज्ञवालीले संवाददाताहरुसँग भन्नुभयो, ‘जेठ २ गते कार्यदल नबन्दासम्मको अवधिलाई कट अफ डेट मान्न सकिन्थ्यो । तर कार्यदल बनेर पार्टी एकताको कुरा अघि बढेपछि पनि यस्ता घटना हुन्छन् भने यसलाई सामान्य रूपमा लिन सकिन्न।’

प्रतिक्रिया दिनुहोस्