कांग्रेसले दियाे प्रधानमन्त्री ओलीविरुद्ध निर्वाचन आयाेगमा उजुरी

काठमाडौं ।नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा प्रधानमन्त्रीलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको छ।

राष्ट्रिय सभा उप निर्वाचनको मौन अवधिमा पनि प्रचार गरेको भन्दै कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठलाई कारबाहीका लागि निर्वाचन आयोगमा उजुरी दर्ता गराएको हो।
कांग्रेस संसदीय दलको बुधबारको बैठकको निर्णय अनुसार बिहीबार आयोगमा उजुरी दर्ता गराएको कांग्रेस संसदीय दलका अधिकृत विजयन्द्र बीर आलेले जानकारी दिए।
प्रधानमन्त्री ओलीले बुधबार निर्वाचन आचारसंहिता विपरीत मौन अवधिमा राष्ट्रिय सभा उप निर्वाचनका एमाले उम्मेदवार रामबहादुर थापाका लागि मत मागेका थिए। यस्तै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पनि बुधबार साँझ एमाले उम्मेदवार थापाको पक्षमा अपिल जारी गरेका थिए।

