बागमतीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन आज, थापा र देवकोटा मुख्य प्रतिस्पर्धामा

काठमाडौं। वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्य पदका लागि आज हुने उपनिर्बाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगको कार्यालयले जनाएको छ।

हेटौँडा-४ मा रहेको भुटनदेवि स्कुलको चौरमा बिहान ९ बजे देखि ३ बजेसम्म मतदान हुने र साँझसम्म मतगणना सक्ने गरी तयारी गरिएको मुख्य निर्वाचन अधिकृत डिल्ली रत्न श्रेष्ठले जनाए।
वाग्मती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदका लागि हुने उपनिर्वाचनमा नेकपा एमालेले गृहमन्त्री गृहमन्त्री रामबहादुर थापा बादल, कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट एमालेकै माधव नेपाल समूहका डा खिमलाल देवकोटा र नेमकिपाका कृष्णबहादुर तामाङ प्रतिस्पर्धा गर्दैछन् ।
निर्बाचनमा थापा र देवकोटाकै मुख्य प्रतिस्पर्धा हुने ठानिएको छ। माओवादीबाट जितेर नेकपा फुटेपछि एमाले रोजेकाले रिक्त भएको पदमा पुनः निर्वाचन हुन लागेका हो। नेकपा एमालेभित्रको पछिल्लो समीकरणपछि नेकपा एमाले ओली पक्षले गृहमन्त्री थापा नै आधिकारिक उम्मेद्वार भन्दै ह्वीप जारी गरेको छ।
उपनिर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने पाउने छन्। वाग्मती प्रदेशसभा सदस्य ११० जना र प्रदेशका १३ जिल्लाका ११९ स्थानीय तहका प्रमुख र उपप्रमुख २३८ जना गरी ३४८ मतदाता रहेका छन्। प्रदेशसभाका एक जना सदस्यको ४८ र स्थानीय तहका प्रतिनिधिको १८ मत भार गणना गरिन्छ।
११० सदस्यीय प्रदेशसभामा एमालेका ५७ रहेकोमा १ सदस्यको मृत्यु भएकाले ५६ जना, माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२, विवेकशील साझा पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका २।२ जना छन्। जनता समाजवादी पार्टीबाट निर्वाचित १ जना छन्।
स्थानीय तहका २३८ मतदातामध्ये एमालेका १३३ जना, कांग्रेसको ६७, माओवादी केन्द्रको ३३, राप्रपाको २, नेमकिपा २ र जसपाका १ जना छन्। मतभारका हिसाबले एमालेको प्रदेश सभामा २६४० र स्थानीय तहका प्रमुख र उपप्रमुखमा २३९४ गरी कुल ५०३४ मत भार छ।
कांग्रेस र माओवादी केन्द्र तथा जसपाको गठबन्धनसँग ५४ प्रदेश सभा सदस्य छन्। जसको मतभार २५९२ हुन्छ। विपक्षी गठबन्धनको स्थानीय तहका प्रमुख र उपप्रमुखतर्फ १०५ जनप्रतिनिधि छन् यसको मतभार १८९० हुन आउँछ। यसरी विपक्षी गठबन्धनसँग कुल ४४८२ मतभार छ।

