जिल्लाबासीको जीवनरक्षाका लागि आवश्यक पहल गरिरहेको सांसद राईद्वारा स्पष्ट



काठमाडौं।संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ ले तीब्र रूपमा फैलिइरहेको कोभिड-१९ को नयाँ भेरियन्ट संक्रमण सोलुखुम्बुमा पनि फैलिंदै गएकोमा चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरणका लागि आफुहरुले सक्दो पहल गरिरहेको बताउनु भएको छ।

नयाँ भेरियन्ट संक्रमणको जटिल अवस्थालाई मध्यनजर गर्दै यसलाई फैलन नदिन निषेधाज्ञा जारी गरेर जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डीसीसीएम) मार्फत आवश्यक स्वास्थ्य सामाग्रीहरुको संकलन र ब्यबस्थापन कार्य अघि बढी रहेको स्पष्ट पार्दै सांसद राईले आइतबार एक बिज्ञप्तिमार्फत ९० वटा अक्सिजन सिलिन्डर छिट्टै जिल्ला पुग्ने जानकारी दिनुभएको छ। फैंलदो संक्रमणबाट जिल्लाबासीहरुको जीवन रक्षाका लागि आवश्यक अक्सिजन प्लान्ट, पिसिआर मेसीन, भ्यान्टिलेटरसहित केहि वेडको व्यवस्था र पर्याप्त मात्रामा अक्सिजन सिलिन्डर र आवश्यक स्वास्थ्य सामाग्रीको व्यवस्थाका लागि आफुहरुले केन्द्र र प्रदेश सरकारको ध्यानाकर्षण गराइ रहेको उल्लेख गर्दै सांसद राईद्वारा जारी बिज्ञप्तिमा महामारीको यो जटिल अवस्थामा हतोत्साहि नभइ स्वास्थ्य मापदण्ड पालना गर्न जिल्ला बासीहरुमा अपिल गरिएको छ।

बिज्ञप्तिमा राईले सरकारले समयमै संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामाग्रीहरुको उचित ब्यबस्थापनमा ध्यान नदिंदा जनताले अकालमै मृत्युवरण गर्न बाध्य हुनु परेको आरोप लगाउनु भएको छ। स्वास्थ्य सामाग्रीहरुको अभावमा संक्रमितको अकाल मृत्यु भएको कारुनिक र हृदयबिदारक घटनाक्रमको अन्त्यका लागि स्वास्थ्य संकटकाल घोषणा गरि राज्यको सम्पूर्ण साधन श्रोतको परिचालन गर्न सरकारसंग आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्