प्रधानमन्त्री ओलीलाई पुन : सपथ गराउन माग गर्दै सर्बोच्चमा छुट्टाछुट्टै तीन मुद्दा पेश

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः शपथ ग्रहण गराउन माग गर्दै सर्वोच्चमा रिट निवेदन पेश भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार शपथ लिँदा ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द छुटाएकाले पुनः शपथ गराउन अन्तरिम आदेशको माग गर्दै रिट निवेदन पेश भएका हुन्।
ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भइ शपथ लिने क्रममा ओलीले सोमबार राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भन्दै विवादस्पद शपथ लिएका थिए।
वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली, सन्तोष भण्डारीलगायतले तीनवटा रिट निवेदन पेश गरेका हुन्। सबै प्रशासनिक काम सकिए पनि आइतबार समय अभावका कारण निवेदन दर्ता हुन नसकेको ज्ञवालीले जानकारी दिए।
शपथ ग्रहणको क्रममा राष्ट्रपतिलाई समेत निर्देशन दिँदा देश, जनता र संविधानको अपमान भएको जिकिर निवेदकहरुले गरेका छन्। ओलीले लिएको शपथ पूर्ण नभएकाले उनले पुनः शपथ ग्रहण नगरेसम्म प्रधानमन्त्रीको हैसियतमा कुनै पनि काम नगर्न नगराउन अन्तरिम आदेशको माग गरिएको छ।
निवेदकहरुले संघीय संसदको सदस्य नभएका सातजना मन्त्रीलाई पुनः नियुक्त गरिएकोप्रति पनि प्रश्न उठाएका छन्। धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति अधिकतम ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा संघीय संसदको सस्यता प्राप्त नगरेमा स्वत पदमुक्त हुने व्यवस्था छ।

