कोरोनाका कारण कांग्रेस नेता गच्छदार पत्नीको निधन



काठमाडौं । कांग्रेस उपसभापति विजयकुमार गच्छदारकी श्रीमती निर्मला गच्छदारको निधन भएको छ । यस अघि मृर्गौला र कलेजोको समस्या भएकी गच्छदारलाई कोभिड–१९ को संक्रमण पनि देखिएको थियो ।

उपचारकै क्रममा शनिबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । गच्छदार पत्नीलाई लामो समयदेखि मृर्गौला र कलेजोको समस्या थियो । चार महिना अगाडि विजय गच्छदारले भारतको नयाँ दिल्लीमा डेढ महिना उपचार गराएर ल्याएका थिए ।

त्यसपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उनको उपचार भइरहेको थियो । भारतमा उपचार गराएपछि नियमित फलोअपमा जानुपर्ने अवस्था थियो ।

तर लकडाउनले गर्दा ढिलो भएको जानकारी कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए ।

‘उहाँलाई मृर्गौला र कलेजो दुवैको समस्या भएपछि चार महिनाअघि भारतको नयाँ दिल्लीमा उपचार गरेर ल्याइएको थियो । पुनः फलोअपका जानुपर्ने थियो । तर, लकडाउनले गर्दा जान सकिएन’ विश्वकर्माले भने, ‘टिचिङमा गराउँदै उपचार गराउँदै आएकोमा सात दिन अघि नर्भिकमा उपचार गर्न लगिएको थियो । तर, उपचारकै क्रममा उहाँलाई कोभिड–१९ को संक्रमण देखिएपछि शनिबार बिहान निधन भयो ।’

भारतमा उपचारको लागि लान नसकिए पनि दिल्लीबाट डाक्टर बोलाएर टिचिङमैं उनको उपचारको प्रबन्ध हुँदै गर्दा उनलाई कोभिड देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्