अन्ततः गण्डकीमा केहि लागेन विपक्षी गठबन्धनको, गुरुङ नै पुन: मुख्यमन्त्री बन्दै

काठमाडौं। बिपक्षी गठबन्धनले तोकेको समयसीमा भित्र बहुमत सिद्द गर्न नसकेपछि गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुन पृथ्वी सुब्बा गुरुङ नै नियुक्त हुने भएका छन।

बहुमत सदस्यको नाम सहित प्रदेश प्रमुख कहाँ पत्र बुझाएपनी पनि जनमोर्चाका दुई सांसदले साथ नदिँदा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्न असफल भएका हुन् । जनमोर्चाका सांसद कृष्णबहादुर थापा र खिमविक्रम शाहीले नेपालीलाई मुख्यमन्त्रीका लागि साथ नदिने बताएका थिए ।
बुधबार दिउँसो नै प्रदेश प्रमुख कहाँ पत्र पठाएर सांसद थापाले आफू तटस्थ बस्ने बताएका थिए । यस्तै, अर्का सांसद खिमविक्रम शाहीले गठबन्धनको सरकारमा आफ्नो समर्थन नरहेको पत्र पठाएका थिए ।
यी दुई सांसदले साथ नदिएपछि मुख्यमन्त्रीका लागि नेपालीले बहुमत जुटाउन नसकेका हुन।
कांग्रेसका नेपालीलेले ६० सदस्यीय प्रदेश सभाका कांग्रेसका १५, माओवादीका (सभामुखसहित) १२, जनमोर्चाका ३ र जनता समाजवादीमा २ सांसदको समर्थन रहेको भन्दै मुख्यमन्त्री नियुक्ति दाबीसहितको पत्र बुधबार प्रदेश प्रमुखलाई बुझाएका थिए ।
तर त्यसअघि नै मध्याह्न जनमोर्चाका थापाले सरकार गठनका सन्दर्भमा आफू तटस्थ रहेको बताए । उनले आफू संसदीय दलको नेता रहेको प्रष्ट गरेका छन् । तर जनमोर्चाले भने उनलाई संसदीय दलको नेताबाट हटाइसकेको पत्र बुझाएको छ ।
२६ वैशाखमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि ३ दिनको म्यादसहित आह्वान गरेकी थिइन् ।
बुधबार ४ बजेसम्म त्यसको म्याद थियो । बहुमतको सरकार बन्न नसके संवैधानको धारा १६८ को ३ अनुसार अब प्रदेश सभाको सबैभन्दा ठूलो दल एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुने पक्का भएको हो । उनको केही बेरमा सपथ हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
जनमोर्चाका सांसद थापालाई संसदीय दलको नेताबाट हटाइएको जनमोर्चाकी सांसद पियारी थापाले संसद सचिवालयमा पत्र दिएकी थिइन् । तर, त्यो किर्ते र जालसाजी भएको भन्दै संसदीय दल नेता थापाले प्रदेश प्रमुखलाई पत्र दिइसकेका छन् । उनलाई कारबाही गरेर सदनमा ५९ सांसद बनाएर बहुमत पुर्याउने प्रयास विपक्षी गठबन्धनले गरेको थियो ।
उनलाई कारबाही गरेको पत्र प्रदेश प्रमुखकोमा पुग्नु अगावै थापाले प्रदेश प्रमखुलाई पत्र लेखेर आफूमाथि गैरकानुनी कारबाही गरिएको बताएका थिए ।

