उपेन्द्र ओलीको विपक्षमा लाग्दा ठाकुर आक्रोशित, भन्छन्-‘जसपा बैकल्पिक सरकार निर्माणको पक्षमा लाग्नु हुंदैन’

काठमाडौं । सत्तारूढ एमाले फुटको दिशामा अग्रसर भइरहेका बेला जनता समाजवादी पार्टीमा पनि त्यही रोग सल्किएको छ । सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवले गठबन्धन सरकार बनाउन राष्ट्रपतिलाई आह्वान गर्दै हस्ताक्षर गरेका थिए ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले सोमबार राति नै विज्ञप्ति जारी गर्दै ओलीले मधेश आन्दोलनले उठाएका मुद्दा सम्बोधन गरिरहेकाले गठबन्धनको पक्षमा उभिनु गलत भएको बताएका छन् ।
सरकारले मधेशी आदिवासी जनजाती, थारु महिला, दलित, मुस्लिमलगायत सिमान्तकृतहरूको महत्त्वपूर्ण सवालहरू मुद्दा फिर्ता बन्दि रिहाई नागरिकता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायतका विषय सम्बोधन गरेकाले गठबन्धन सरकारको वकालत गर्नु त्रुटिपूर्ण हुने ठहर गरेको हो ।
“जनता समाजवादी पाटी नेपाल र केपी शर्मा ओली नेतृत्वको नेपाल सरकार बीचको वार्ता तथा तदनुसारको कार्य प्रगति सकारात्मक रूपले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ । वर्तमान राजनीतिक परिस्तिथिमा जसपा नेपाल सत्ताको प्राप्तिभन्दा एजेन्डा सम्बोधनको विषयमा केन्द्रित रहेको र मुद्दा सम्बोधन नै जसपा नेपालको मूल ध्येय रहेको अवस्थामा मुद्दाबाट विचलित भै सरकार निर्माण गर्ने, सरकारमा सहभागी हुने वा कुनै पनि किसिमको वैल्पिक सरकार गठनमा संलग्न हुने कार्य जसपा नेपालको उद्देश्य विपरित हो,” उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

