प्रधानमन्त्री ओलीद्वारा २२ तले धरहराको उद्घाटन,सर्बसाधारणले तत्काल प्रवेश नपाउने

काठमाडौं, ११ वैशाख २०७८ भूकम्पमा भत्किएपछि पुनःनिर्माण गरिएको धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। शनिबार सुन्धारास्थित धरहरा परिसरमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन्। निर्माणको काम चलिरहेकाले तत्कालै सर्वसाधारणले चढ्न पाउने छैनन्।

१२ वैशाख २०७२ मा भूकम्पले धरहरा भत्किएको थियो। त्यसलाई पुनःनिर्माण गरेर २२ तलाको बनाइएको छ। यसअघि ९ तला रहेका थिए।
धरहरा पुनःनिर्माणमा ३ अर्ब ४८ करोड खर्च भएको छ। यो ४२.२ रोपनीमा फैलिएको छ। बगैंचा तथा पार्किङ स्थललगायतका संरचना निर्माण भइरहेका छन्।

तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले महारानी त्रिपुरासुन्दरीको सम्झनास्वरुप १८८२ सालमा धरहराको निर्माण गर्न लगाएका थिए। १९९० सालको भूकम्पले भत्किनु अगाडि धरहरा ११ तलाको थियो। १९९० माघ २ को भूकम्पले बर्दाली माथिको १० र ११ तला भत्किएको थियो। ९० सालमा भत्किएपछि तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले दुई वर्षपछि नाै तला नै कायम गरी धरहराको पुन:निर्माण गराएका थिए।
नयाँ बनाइएको धरहरा २२ तलाको छ।
राष्ट्रिय पुनिर्माण प्राधिकरणका अनुसार नयाँ धरहराको निर्माणमा सिमेन्ट, फलामलगायत आधुनिक प्रविधिको प्रयोग गरिएको छ। पहिलेको धरहरा चुना र सुर्कीले बनेको थियो। धरहराको गजुरमा ९८ केजी सुनको जलप लगाइएको प्राधिकरणको भनाइ छ।


