२०७७ उपलब्धिमूलक बर्ष रहेको प्रधानमन्त्रीको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको महामारी र केहि राजनीतिक अस्वस्थताका बीचमा २०७७ साल उपलब्धीमुलक रहेको बताएका छन्।

नयाँ वर्ष २०७८ को अवसरमा आज बिहान देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०७७ सालमा केहि राजनीतिक अस्वस्थता देखा परेपनि २०७७ साल निरर्थक नबनेर उपलब्धीपूर्ण रहेको बताए । प्रधानमन्त्री ओलीले दशकौं पछिको मेलम्ची सपना साकार बनाउन सफल हुन सक्नुलाई महत्वपूर्ण उपलब्धी मानेका छन् ।
यस्तै ओलीले कोरोना महामारीका बीचमा अनलाइन कक्षा सञ्चालन गरिनु, पुनर्निमार्ण र नयाँ निर्माणका कार्यहरु हुनुलाई पनि उपलब्धी मानेका छन् । यस्तै उनले प्रतिदिन साढे ५ किमी भन्दा वढी सडक बन्नुका साथै एकदिनमा कम्तीमा १२ वटाका दरले आवास तयार भएको दाबी समेत गरेका छन् ।
यस्तै हिसांको बाटो लिएको नेत्रबिक्रम चन्द विप्लव समूहलाई शान्तिपुर्ण मुलधारको राजनीतिमा फर्काउने कार्यलाई महत्वपूर्ण सफलता हात पारेको भन्दै अब हिसांको राजनीतिक अन्त्य भएको घोषणा समेत गरेका छन् ।
कोरोना भाइरसको जोखिम पुनः वढेकाले सरकारले कायम गरेका मापदण्डको पालना गर्नका लागि समेत सबै नेपालीहरुमा उनले आग्रह गरेका छन् ।

