टाठाबाठा मात्र सम्पन्न र सुबिधाभोगी हुने खालको पद्धति त्याग्नुपर्नेमा पूर्बराजाको जोड

काठमाडौं।पूर्वराजा ज्ञानेन्द्र शाहले टाठाबाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने र अरु निमुखा सर्वसाधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिविधि र पद्धति पनि त्याग्नैपर्ने बताउनुभएको छ।

धार्मिक भ्रमणका क्रममा हरिद्वारमा रहेका पूर्बराजा शाहले नयाँ बर्ष २०८७ को पूर्बसन्ध्यामा देशबासीका नाममा शुभकामना सन्देश प्रकाशित गर्दै सो कुरा बताउनुभएको हो।
हरेक नयाँ वर्षमा सुख, सम्मुन्नति, शान्ति र सन्तुष्टिको अपेक्षा रहे पनि समय वित्दै जाँदा ती सबै आशा, अभिलाषा चकनाचुर हुँदै गएको भन्दै पूर्वराजाले सांकेतिक रुपमा राजनीतिक घटनाक्रमप्रति असन्तुष्टि समेत जनाउनुभएको छ।‘काल क्रममा यस्तो हुनु हुन्न। नेपाली जनताको आकांक्षा पुरा हुँदै जानु पर्दछ भन्ने हाम्रो कामना हो,’ शाहले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ।
राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी सबैमा हुनुपर्नेमा कुरामा जोड दिंदै पूर्बराजा शाहले भन्नुभएको छ,-
‘यसका निम्ति आपसी भाँडभैलो, अनमेल र द्वन्दको अन्त हुनुपर्छ। अनि समन्वय, सामञ्जस्य पनि रहनुपर्छ।’
नेपाललाई सबै मिलेर जोगाउनुपर्ने, सर्वसाधारणहरुको जीवनस्तर उकास्नुपर्नेमा जोड दिंदै
पूर्वराजा शाहले जारी गरेको शुभकामना सन्देशमा अनावश्यक प्रकृतिको दोहन, आर्थिक अपचलन, वैदेशिक प्रभाव र परनिर्भरता त्याग्नुपर्ने आवश्यकता पनि औल्याउनु भएको छ।
‘हाम्रा पिता पुर्खा तथा त्यागी वीर वीरांगनाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु छ। यसका निम्ति हिमाल, पहाड, तराई सबै नेपाली विना भेदभाव र विना संकोच मिलेर जानु छ,पूर्वराजा शाहले भन्नुभएको छ- ‘नेपाली हामी फुटेर होइन, शक्ति संरक्षण गरौं जुटेर। एकतामा हाम्रो सफलता छ, यसैमा देशको कल्याण छ। हाम्रा समस्या साझा छन्, एउटा बिग्रेको अर्कोले हेर्ने बेला हैन। सबैको एउटै उद्देश्य हुनु पर्दछ, एउटै कामना हुनु पर्दछ।’
पहिले देश अनि मात्र आफू भन्ने भावना सबैमा हुनु पर्नेमा शाहको जोड छ। ‘देशको उन्नति र अधोगति हामीहरुकै हातमा छ। पहिले देश अनि मात्र आफू भन्ने भावना हामी सबैमा हुनु अत्यावश्यक छ। हामीले कर्तव्य पुरा गर्यौं भने हामी उठ्छौं। निषेध र प्रतिशोधको चक्रव्युहबाट बाहिर आउनै पर्दछ,’ वहाँले भन्नुभएको छ।
पूर्वराजा शाहले देशलाई आफ्नै स्रोतशक्तिबाट आत्मनिर्भर बनाउनुपर्ने सुझाव पनि दिनुभएको छ। ‘मेची महाकाली – देश बचाउने हाम्रो पाली। नेपाल हाम्रो पहिचान हो – सनातन हाम्रो संस्कार हो। न जाति न भाषा – सबै नेपालीको एउटै आशा। पहाडका गाउँ गाउँमा आधुनिकताको लहर विस्तार गरौं, तराईका फाँटहरुलाई भुलाउ र हिमाली तथा उच्च पहाडी क्षेत्रमा फलफुल प्रशोधन बढाऔं, जडिबुटी उद्योग खोलौं र देशलाई आफ्नै स्रोतशक्तिबाट धनधान्यपुर्ण पारौं,’ पूर्वराजाले आह्वान गर्नुभएको छ।

