टेलिकमको साधारणसभा सम्पन्न



काठमाडौं। नेपाल दूरसञ्चार कम्पनीको तेह्रौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। काठमाडौंमा भएको साधारणसभाले आव २०७६।७७ को मुनाफा रकममध्येबाट प्रति सेयर ४० रुपैयाँका दरले सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ।

सभाले आव २०७६।७७ का लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको उक्त आवको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको कम्पनीले जनाएको छ।

साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०७७/७८ को लागि लेखापरीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट नियुक्त गर्दै पारिश्रमिकसमेत तोकेको छ।

यस्तै, सर्वसाधारण सेयरधनीहरुका तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिकाप्रसाद पौडेल निर्विरोध रूपमा निर्वाचित भएको घोषणालाई साधारणसभाले अनुमोदनसमेत गरेको छ। साधारणसभाले पारित गरे बमोजिमको लाभांश रकम कम्पनीले शुक्रबारबाट वितरण गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्