२७ औं क्यान इन्फोटेक बैशाखमा

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघले) आइतबार पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी गराएको हो । मेला बैशाख २८ देखि जेठ २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुनेछ।

कोभिड महामारीका कारण यस वर्ष गतवर्षहरुमा भन्दा झण्डै ३ महिना ढिलो गरि मेला आयोजना हुन लागेको हो । कोभिड महामारीको जोखिम कम भई नसकेकाले मेलामा स्वास्थ्य सर्तकतामा सम्पूर्ण मापदण्डलाई पालना गरिने आयोजकले जनाएका छन् ।
क्यान मेला प्रवेश टिकटलाई यसवर्ष पेपरलेस गर्ने आयोजकले जनाएका छन् । सर्वसाधारणका लागि १ सय र विद्यार्थीका लागि ५० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । सरकारी तथा सामुदायिक शिक्षण संस्थाहरुलाई भने पत्रका आधारमा निःशुल्क प्रवेश दिईने आयोजकले जनाएको छ ।
यसवर्ष पनि झण्डै ३ लाखले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ। नेपालमा सूचना प्रविधि र मनोरञ्जन सम्बन्धी बार्षिकरुपमा आयोजना हुँदै आएको क्यान इन्फोटेकको यो २७ औं संस्करण हो । क्यानले विगत २० वर्षदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना प्रविधि सम्मेलन पनि गर्दै आएको छ ।

