लहानमा बम विस्फोट,८ घाइते, गम्भीर दुईजनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइंदै



सिरहाको लहान नगरपालिकास्थित मालपोत कार्यालयमा बम विस्फोट भएको छ । विस्फोटमा परी ६ जना घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले जानकारी दिए । करिब १ बजेतिर बम विस्फोट भएको खबर आफूले पाएको निरौलाले जानकारी दिए ।

६ जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए । गम्भीररूपमा घाइते भएकालाई काठमाडौं उपचारका लागि ल्याउने तयारी गरिएको उनले जानकारी दिए । घाइतेमध्ये कार्यालका नायब सुब्बा ३८ वर्षीय शिवकुमार यादव र धनगढीमाई नगरपालिका-४ घर भएका सेवाग्राही ३० वर्षीय दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ । नायब सुब्बा यादव सिरहाको विष्णुपुर गाउँपालिका-३ का हुन् ।

मालपोत कार्यालयको पहिलो तल्लामा रहेको मोठ शाखामा विस्फोट भएको हो । अपरिचित व्यक्तिले झोलामा बम ल्याएर कुर्सीमुनि राखेको र विस्फोट भएपछि सेवाग्राहीसमेत सो शाखामा रहेका घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनालाई थप उपचारका लागि काठमाडौं लैजान हेलिकप्टर मगाइएको छ ।

यसैबीच मालपोत कार्यालयमा बम विष्फोट भएको ठाउँमा गणतान्त्रिक मुक्ति मोर्चा ‘गोइत’ समूहको पर्चा फेला परेको छ । प्रदेश २ का डिआइजी धीरजप्रताप सिंहका अनुसार बम विस्फोट भएको स्थान नजिकै गोइत समूहको पर्चा फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्