दुई बर्षसम्म आफैं प्रधानमन्त्री रहने ओलीको दावी



काठमाडौं,१४ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सांसदहरूसँग आफूले पदबाट राजीनामा नदिने बताएका छन्। संसद पुनर्स्थापना भएको र अझै २ वर्षसम्म आफू नै प्रधानमन्त्री हुने भन्दै ढुक्क रहन उनले आग्रह गरेका छन्।

प्रदेश-१ का सांसदसँग ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिने विषय कल्पना समेत गर्न आग्रह गरेको भेटमा सहभागी सांसद किसान श्रेष्ठले बताए। ‘अझै दुई वर्ष मैले नै सरकार चलाउने हो। स्थायी सरकार हो। बिचमै राजीनामा दिएर छोड्न मिल्दैन। राजीनामा दिने कल्पना नै नगर्नुसु’ प्रधामन्त्रीको भनाइ उदृत् गर्दै श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले साथीहरू लड्डु खाँदै हिड्नु भएको छ। ठिकै छ हेर्दै जाउँला। उहाँहरूको कुरा के के हो बुझ्नुपर्छ। त्यसपछि निर्णय गरेर जानुपर्छ।

ओलीले आफूनिकट सांसदलाई भेटिरहेकै बेला उपाध्यक्ष वामदेव गौतम बालुवाटार छिरेका थिए। गौतम आएपछि ओली समेत उठेर गोप्य कोठा पुगेका थिए। ओली-गौतमबीच कुन-कुन विषयमा छलफल भयो भन्ने आफूलाई थाहा नभएको श्रेष्ठले बताए। ‘भित्र गोप्य रुपमा गौतम र ओली बस्नु भएको थियो बाहिर निस्किँदा दुवै हासेर निस्कनु भयो। सार्थक भेटघाट भयो होला भन्ने लाग्छ’ श्रेष्ठले भने। गौतमको पार्टी एकता अभियानले सार्थकता पाउनेमा आशावादी रहेको श्रेष्ठले बताए।

‘प्रधानमन्त्रीज्यूले विशेषगरी प्रदेश-१ का सांसदसँग छलफल र सुझावका लागि बालुवाटार बोलाउनु भएको थियो । त्यसमा अन्य प्रदेशका सांसदहरु पनि हुनुहुन्थ्यो’, सांसद श्रेष्ठले भने,‘अरु प्रदेशका सांसदसँग पनि यसरी छलफल र सुझाव लिने तयारी गर्नुभएको छ।’

प्रतिक्रिया दिनुहोस्