सुनजस्तो देखिने पहेँलो धातु देखाएर १ करोड ३९ लाख ठगी गर्ने पक्राउ



काठमाडौं,२८ भदौ । सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्।

प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको टोलीले थापा मगरलाई यही भदौ २५ गते साँझ टोखा नगरपालिका–९, मिलन टोलस्थित एक गेष्ट हाउसबाट पक्राउ गरेको हो। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातु ८५६ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार थापा मगरले उक्त धातुलाई सुनका रूपमा देखाई पीडितबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

उनलाई ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिएका छन्।

पक्राउ परेका थापा मगर जबरजस्ती करणी कसुरमा कैदी रहेको र गत २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेको समेत खुलेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्