निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी प्रतिबेदनमाथिको छलफल टुंग्याउन एमाले नेताहरु गोप्य मिटिङमा
काठमाडौं,२८ भदौ । नेकपा एमालेका केन्द्रीय नेताहरू शनिबार बेलुकी काभ्रे पुगेका छन् । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी कार्यदलको आवासीय बैठकका निम्ति उनीहरू आएका हुन् ।

केन्द्रीय सदस्य अशोककुमार ब्याञ्जुका अनुसार उनीहरू पनौती नगरपालिका ११, बल्थलीस्थित एक होटलमा बसेका छन् । पहिले धुलिखेलमा बस्ने योजनाका साथ काभ्रे पुगेका एमाले नेताहरूले अकस्मात् योजना परिवर्तन गरेर बल्थली जाने निर्णय गरेका हुन् ।बसोबासको सम्पूर्ण व्यवस्थापन केन्द्रीय कार्यालयबाट सचिव डा. भीष्म अधिकारीले गरेका कारण ब्याञ्जुले होटलको नाम थाहा नभएको बताए । डा. अधिकारीलाई बैठकस्थलबारे जिज्ञासा राख्दा ठाउँ गोप्य भनिएका कारण भन्न नमिल्ने बताए ।
फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि पार्टी नेतृत्व र कार्यशैलीबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औंल्याउँदै एमालेले बैशाखमा उपाध्यक्ष रामबहादुर थापा (बादल) को संयोजकत्वमा निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल गठन गरेको थियो।
कार्यदलको असार २५ मा सम्पन्न बैठकले उपाध्यक्ष बादल र महासचिव शंकर पोखरेललाई प्रतिबेदन लेखनको जिम्मा दिएको थियो । तर, प्रतिवेदनमा अध्यक्ष केपी शर्मा ओलीकै बहिर्गमनको विषय उल्लेख भएपछि ओलीले आफू पक्षका नेतालाई उक्त प्रतिवेदन पुनर्लेखनको जिम्मेवारी दिएका थिए । शुक्रबार प्रतिवेदनबारे छलफल गरी पारित गर्न पार्टी केन्द्रीय कार्यालय च्यासलमा कार्यदलको बैठक बसेको थियो ।
बैठकमा महासचिव पोखरेलले तयार पारेकोसँगै अर्को प्रतिवेदन पनि पेश भएको थियो । त्यसपछि उत्पन्न जटिलता फुकाउँदै शनिबार बेलुकी पुनः बैठक बस्ने गरी शुक्रबारको बैठक सकिएको थियो । शनिबार पनि छलफल गरेर टुंगोमा पुग्न नसकिने भएपछि नेताहरू काभ्रेमा आवासीय बैठकका निम्ति आएको एक एमाले नेताले बताए ।
कार्यदलमा उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल र पृथ्वीसुब्बा गुरुङ, महासचिव शंकर पोखरेल, उपमहासचिव लेखराज भट्ट, सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल, भानुभक्त ढकालसहित ९ वटै प्रदेशका इन्चार्ज सदस्य छन्। एमालेले ७ भौगोलिक प्रदेशसहित राजधानी, सम्पर्क मञ्च, केन्द्रीय आयोग, विभाग, सल्लाहकार परिषद्, प्रवास र जनसंगठनलगायतका निकायमा छलफल गरी सुझाव संकलन गरेको थियो ।
जेठ ३० गते शुरु भएको सुझाव संकलन असार २३ मा सकिएपछि महासचिव पोखरेलले प्रतिवेदन तयार पारेका हुन् । प्रतिवेदन पारित गर्नुपर्ने बैठकमा अध्यक्ष ओलीका तर्फबाट अर्को प्रतिवेदन पनि आएका कारण सोही जटिलतालाई बल्थलीको आवासीय बैठकले हल गर्ने भएको हो । बैठक आइतबार दिनभरि बस्ने र निष्कर्षमा नपुगे आइतबारको रात पनि त्यहीँ बिताउने मनस्थितिमा एमाले नेताहरू छन् ।


