बाढीपीडितका लागि नेपाल आईडीको पाँच लाख सहयोग, रसुवा–नुवाकोटमा सामाजिक सेवा कार्यक्रम पनि सञ्चालन गर्ने



काठमाडौं,२७ भदौ । अमेरिकामा रहेका नेपालीहरूको संस्था नेपाल आईडीले गत भदौ १० गते भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

गैर नाफामूलक संस्थाका रूपमा गत जनवरीमा स्थापित सो संस्थाका अध्यक्ष डा.थमन बास्तोला (थोमस) द्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा नेपाल आईडीको बोर्ड अफ डाइरेक्टर्सको हालै सम्पन्न बैठकले तत्कालीन राहत कार्यमा योगदान पुर्‍याउने उद्देश्यले आफ्नो संस्थागत कोषबाट प्रधानमन्त्री विपद् राहत कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने निर्णय
गरेको उल्लेख गरिएको छ।

विज्ञप्तिमा बाढीबाट रसुवा,नुवाकोट,धादिङलगायतका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ । संस्थाले बेपत्ताको खोजी तथा उद्धार,घाइतेको उपचार र प्रभावित परिवारको राहत,व्यवस्थापन तथा पुनर्वासका लागि भइरहेका सरकारी, गैरसरकारी तथा सामुदायिक प्रयासप्रति ऐक्यबद्धता जनाएको छ ।

बाढीबाट भएको क्षतिको पुनर्निर्माण चुनौतीपूर्ण रहेको भन्दै संस्थाले दीर्घकालीन पुनर्स्थापनामा समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल आईडीले बाढीबाट अति प्रभावित रसुवा–नुवाकोट क्षेत्रमा सन् २०२७ को सामाजिक सेवा कार्यक्रम केन्द्रित गर्ने निर्णयसमेत गरेको छ । स्थलगत अध्ययन तथा स्थानीय आवश्यकताका आधारमा कठिन अवस्थामा रहेका विद्यार्थीको शैक्षिक जिम्मेवारी लिने तथा शिक्षा क्षेत्रमा प्रभावकारी सहयोग गर्ने कार्यक्रम सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल आईडीले आफ्नो मूल भावनाका रूपमा “मेरो धरती, मेरो नेपाल, मेरो स्वाभिमान ! जहाँ छु, त्यहीँबाट गर्छु अभियान र योगदान !!” भन्ने नारासहित तत्कालीन राहतदेखि दीर्घकालीन पुनर्स्थापना तथा प्रभावित बालबालिकाको शिक्षा र भविष्य निर्माणसम्म हातेमालो गर्न सम्पूर्ण नेपाली डायस्पोरालाई अपिल समेत गरेको छ।

यही भदौ १० गते रसुवाको भोटेकोसी नदिमा आएको बाढीमा परी हालसम्म १ हजार ३ सय ५७ जनाको मृत्यु भइ सकेको छ भने हालसम्म ५ हजार ३ सय २६ जना बेपत्ता वा सम्पर्कविहीन छन् । करिब ७ हजार घाइते विभिन्न अस्पतालमा उपचाररत रहेको सरकारी तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्