माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला



काठमाडौं,२७ भदौ । भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ ।

सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ ।

२१६ मेगावाट क्षमताको आयोजनामा बाढीपछि ठूलो संख्यामा मानिस हराइरहेका छन् । शुक्रबार नेपाली सेना र आयोजना प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीका सर्भे इन्जिनियरसहितको टोलीले अडिट–१ क्षेत्रमा निरीक्षण गर्दा सुरुङ डेब्रिजले पूर्ण रूपमा भरिएको पाइएको उद्धारमा संलग्न टोलीले जनाएको छ ।

त्यस्तै, मैलुङ क्याम्प साइटमा मिनी स्काभेटर प्रयोग गरी उत्खनन सुरु गरिएको छ । अडिट–३ मा नेपाली सेना र अस्ट्रेलियाली उद्धार टोलीले खोजी गरेका छन् ।

आयोजनाले आजदेखि खोजी तथा उद्धार कार्यलाई थप तीव्रता दिने जनाएको छ ।बाढी आउनुअघि आयोजनास्थलमा १ हजार ४३३ जना कार्यरत थिए । तीमध्ये हालसम्म ८७८ जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्