बाढी प्रभावितका लागि पाकिस्तानले उपलब्ध गरायो १०० टन राहत सामग्री
काठमाडौं,२२ भदौ । पाकिस्तानले नेपालमा बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १०० टन राहत सामग्री उपलब्ध गराएको छ।

तम्बु,कम्बल, म्याट, सरसफाइ सामग्री तथा औषधिसहितको राहत सामग्री आइतबार काठमाडौं आइपुगेको हो।
नेपालका लागि पाकिस्तानका राजदूत आमिर खानले उक्त राहत सामग्री विज्ञान,प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरेका हुन्।
राहत सामग्री हस्तान्तरणका क्रममा राजदूत खानले विपद्को यस कठिन घडीमा नेपाल र नेपाली जनताप्रति पाकिस्तानको सहयोग र ऐक्यबद्धता दृढ रहेको बताएका छन्। पाकिस्तान नेपाल सरकार तथा नेपाली जनताको साथमा रहेको उल्लेख गर्दै उनले आवश्यक परेमा थप सम्भव सहयोग गर्न पाकिस्तान तयार रहेको पनि बताए।
पाकिस्तानले बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ। साथै, विपद्बाट प्रभावित सबै नागरिकप्रति सहानुभूति व्यक्त गर्दै पाकिस्तानले नेपाललाई आवश्यक सबै सम्भव सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

