रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३३१ पुग्यो, करिब ५ हजार सम्पर्कविहीन



काठमाडौं,२० भदौ । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म विभिन्न जिल्लामा फेला परेका शव तथा मानव अङ्गसहित मृत्यु हुनेको संख्या १ हजार ३३१ पुगेको छ भने करिब ५ हजार व्यक्ति अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ २० गते साँझ ६ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।

प्राधिकरणका अनुसार बाढीपछि विभिन्न स्थानमा शव फेला पर्ने क्रम जारी छ। सबैभन्दा बढी चितवनमा ३६० जनाको शव तथा विभिन्न मानव अङ्ग फेला परेको छ। त्यस्तै नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २१९, नुवाकोटमा १९५, रसुवामा १५६, गोरखामा ७४, धादिङमा ६७, तनहुँमा ३८ जनाको शव फेला परेको छ।

हालसम्म फेला परेका शवमध्ये ९८ जनाको मात्र सनाखत गरी आफन्तलाई बुझाइएको प्राधिकरणले जनाएको छ।

यसैबीच, शुक्रबार माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको ४ नम्बर अडिट टनेलबाट एक चिनियाँ नागरिकलाई सकुशल उद्धार गरिएको छ। त्यस्तै विदुर नगरपालिका–१० बेत्रावतीबाट ६४ वर्षीया एक महिलाको पनि सकुशल उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बाढीपछि करिब ५ हजार व्यक्ति सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ। रसुवा जिल्ला प्रशासन कार्यालयबाट हालसम्म करिब १ हजार ९६७ नेपाली नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको छ भने नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट करिब २ हजार ३४० नेपाली नागरिक सम्पर्कविहीन रहेको विवरण प्राप्त भएको जनाइएको छ।

त्यस्तै सम्पर्कविहीन हुनेमा ५८९ जना विदेशी नागरिक तथा करिब एक सय जना सुरक्षाकर्मी र कर्मचारीसमेत रहेको प्राधिकरणको विवरणमा उल्लेख छ।
बाढीका कारण घाइते भएका ५ हजार ९२९ जनाको हालसम्म उपचार गरिएको छ। विभिन्न अस्पतालमा ३१६ जना, नेपाली सेनाको स्वास्थ्य टोलीबाट ३ हजार २९७ जना तथा सशस्त्र प्रहरी बलबाट २ हजार ३१६ जनाको उपचार गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइएको र सम्पर्कविहीन व्यक्तिको खोजी तथा शवको पहिचानका लागि सम्बन्धित निकायहरू परिचालन भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्