मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगको आग्रह
काठमाडौं,१ भदौ । निर्वाचन आयोगले कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा आयोगलाई सूचित गर्न सम्बन्धित परिवारसँग आग्रह गरेको छ।

मतदाता नामावलीलाई शुद्ध,अद्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अद्यावधिक कार्य भइहेको स्पष्ट पार्दै आयोगले यस्तो आग्रह गरेको हो।
‘कुनै मतदाताको मृत्यु भएको अवस्था भएमा निजको एकाघर परिवारका सदस्य वा अन्य कुनै व्यक्तिले मृत्युदर्ता प्रमाणपत्रसहित सम्बन्धित निर्वाचन कार्यालयमा यथाशीघ्र सूचना दिइ मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यमा सहयोग गर्नुहुन आयोग सबैमा हार्दिक अनुरोध गर्दछ’ आयोगले सोमबार सूचना प्रकाशित गरी भनेको छ।
‘विद्यमान मतदाता नामावलीलाई निरन्तर अद्यावधिक गर्नु निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतासँग प्रत्यक्ष रूपमा सम्बन्धित विषय भएकाले यस कार्यमा समेत सबै नागरिकबाट सदाझैं सहयोग प्राप्त हुने विश्वास’ आयोगले गरेको छ।

