‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा दर्ता, राजसंस्था र सनातन धर्मलाई आधार बनाउने घोषणा



काठमाडौं,२९ साउन । डा. धवलशम्सेर राणाको नेतृत्वमा ‘जय नेपाल पार्टी’ निर्वाचन आयोगमा विधिवत् दर्ता भएको छ।

पार्टी दर्तापछि अध्यक्ष राणाले सनातन धर्म, राजसंस्था र प्रजातन्त्रलाई पार्टीका आधारस्तम्भका रूपमा अघि बढाउने घोषणा गरेका छन्। हिमाल, पहाड र तराईलाई एकताबद्ध राख्दै राष्ट्रिय गौरव तथा ऐतिहासिक विरासतलाई नयाँ पुस्ता र भावी पुस्तामा हस्तान्तरण गर्ने पार्टीको उद्देश्य रहेको उनले बताएका छन्।

देशमा स्थिरता र आर्थिक समुन्नति हासिल गर्नु पार्टीको मुख्य लक्ष्य रहेको राणाले उल्लेख गरेका छन्। पार्टी दर्तासँगै अब केन्द्रीय कार्यसमितिदेखि प्रदेश, जिल्ला तथा स्थानीय तहसम्म संगठन विस्तारको काम अघि बढाउने उनले बताएका छन्।

राजसंस्था र धर्ममा विश्वास राख्ने, प्रदेशको पुनर्संरचना, भ्रष्टाचारको न्यूनीकरण तथा सुशासन चाहने सबै नेपालीलाई पार्टीमा आबद्ध भएर अघि बढ्न राणाले आह्वान गरेका छन्।

विशेषगरी आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार बन्न इच्छुक प्रतिभाशाली नागरिकहरूलाई पार्टीसँग सम्पर्क गरी तयारीका साथ अघि बढ्न उनले आग्रह गरेका छन्।

पार्टी दर्ताका लागि सहयोग गर्ने पार्टीपंक्ति, शुभेच्छुक तथा समर्थकहरूप्रति राणाले आभार व्यक्त गरेका छन्। उनले राष्ट्रवादी राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित संगठन विस्तारको अभियान आजैबाट सुरु गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्