रास्वपाको आरोलो यात्राको लाभ मिल्ने आत्मरतिमा नरमाउन पुराना दलका नेतालाई योगेश भट्टराईको चेतावनी



काठमाडौं,२९ साउन । एमाले उपमहासचिव योगेशकुमार भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाको आरोलो यात्राको लाभ मिल्ने आत्मरतिमा नरमाउन चेतावनी दिएका छन् । पुराना दलको कमजोरी र असफलताको जगमा छोटो समयमै रास्वपाको उदय भएको भन्दै उनले रास्वपाको असफलताले पुराना दलका नेतालाई फेरि शक्तिमा नफर्काउने तर्क गरे ।

सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ओरालो यात्रा सुरु भएको उनको दाबी थियो । रास्वपाको ओरालो यात्रालाई आफ्नो पुनरोदयको संकेत ठान्नु पुराना दलका लागि गम्भीर भूल हुने उनको चेतावनी छ।

नयाँ शक्तिका रुपमा आएको रास्वपाले आफूलाई दीर्घकालीन राजनीतिक विकल्पका रूपमा स्थापित गर्न आवश्यक विचार, सिद्धान्त, नीति र सामाजिक आधार निर्माण गर्न नसक्दा आफैं संकटतर्फ धकेलिएको टिप्पणी भट्टराईको छ ।

‘पुराना पार्टी (एमाले, कांग्रेस र माओवादी) को अकर्मण्यता र तिनका प्रमुख नेताहरूको अयोग्यतालाई नै आफ्नो उत्थानको प्रमुख आधार मानेर रास्वपा पार्टी जन्माइयो । रवि, बालेनलाई नेता बनाइयो । तत्काल ठूलै सफलता पनि मिल्यो,’ उनले लेखेका छन्,‘ रवि, बालेन र रास्वपाले पार्टी निर्माणका लागि आवश्यक पर्ने विचार,सिद्धान्त,नीति,वर्ग र सामाजिक आधार निश्चित गर्नेतिर ध्यान नदिँदा शिखरबाट ओरालो यात्रा सुरु भएको छ । अर्कोतिर पुराना दलका प्रमुख नेताहरू फेरी त्यही गल्ती दोहोर्‍याउँदैछन् । रास्वपाको ओरालो यात्रा र रवि-बालेनको अयोग्यतालाई आफ्नो नेतृत्वको सान्दर्भिकता र पुनरोदयको आधार ठानेर आत्मरतिमा मस्त छन् ।’

रास्वपाको ओरालो यात्रालाई देखाएर पुराना दलका नेताहरूले आफ्नो कमजोरी बिर्सन नहुने भट्टराईको भनाइ छ । उनले नयाँ शक्तिको असफलता पुराना दलको सफलताको प्रमाण नभएको स्पष्ट गरे ।

भट्टराईले राजनीतिक दलहरूको वास्तविक परीक्षा सत्ता वा चुनावी सफलताले मात्र नहुने भन्दै नेतृत्वको क्षमता र संगठनको वैचारिक आधारले त्यसको भविष्य निर्धारण गर्ने बताए । ‘अरूको परीक्षा लिएर रमाइरहेकाहरू आफ्नै परीक्षामा तोरीको फूल देखिरहेका छन्,’ उनले भनेका छन् ।

उनले विगतमा जस्तै विरोधीमाथि प्रतिशोध र बदला लिने प्रवृत्तिलाई राजनीतिक शक्तिको आधार बनाउने प्रयासप्रति पनि कटाक्ष गरेका छन् । यस्तो शैलीले नेतृत्वलाई टिकाउन वा शासन लम्ब्याउन नसक्ने उनको निष्कर्ष छ ।

भट्टराईले पुराना दलका नेतृत्वलाई रास्वपाको कमजोर अवस्थाबाट पाठ सिक्न आग्रह गर्दै आफ्नै घरभित्रको समस्या पहिचान गरेर समाधानतर्फ लाग्न सुझाएका छन् ।

उनले पुराना दलले आफूभित्रको कमजोरी सच्याउन विगतको समीक्षा, संगठन पुनर्निर्माण र वैचारिक बहसलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

जनतासँग कमजोर हुँदै गएको सम्बन्ध र खस्किँदो सामाजिक आधारलाई पुनः स्थापित नगरे पुराना दलले फेरि पनि चुनौती सामना गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्