सामाजिक सञ्जालको दुरुपयोग बढ्दो, एक वर्षमा साइबर अपराधका २० हजार बढी निवेदन
काठमाडौं,२८ साउन सामाजिक सञ्जाल र डिजिटल प्रविधिको प्रयोग बढेसँगै त्यसको दुरुपयोग गरी हुने साइबर अपराध पनि बढ्दै गएको छ। सामाजिक सञ्जालमार्फत ब्ल्याकमेल, ठगी, अनलाइन स्क्यामिङदेखि बैंक तथा डिजिटल वालेटमा अनधिकृत पहुँच र सफ्टवेयरको स्रोत संकेत (सोर्स कोड) मा पहुँच पुर्याउनेसम्मका घटनामा वृद्धि देखिएको प्रहरीले जनाएको छ।

काठमाडौंको कपन बस्ने नुवाकोटका ३४ वर्षीय सुरेन्द्रप्रसाद खनाल असार २६ गते इमेलमार्फत अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गरेको आरोपमा पक्राउ परे। त्यस्तै, काठमाडौं बालाजु बस्ने नुवाकोटका १९ वर्षीय वविक सुनार फेसबुक ह्याक गरी अनधिकृत पहुँच पुर्याएर ठगी गरेको आरोपमा असार २४ गते पक्राउ परे। रौतहटका २२ वर्षीय शुभम साह भने ई–सेवाको कर्मचारी भएको भन्दै ठगी गरेको आरोपमा असार २ गते पक्राउ परेका थिए।
यी घटना साइबर अपराधमा संलग्न हुनेहरूका प्रतिनिधि उदाहरण मात्र हुन्। पछिल्लो समय सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी विभिन्न स्वरूपका अपराध हुने क्रम बढेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले उपलब्ध सीमित स्रोतसाधनका बीच प्रविधिको उच्चतम प्रयोग गर्दै अनुसन्धान र कारबाही अघि बढाइरहेको छ।
प्रहरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा साइबर अपराधसम्बन्धी २० हजार ५ सय २६ वटा निवेदन दर्ता भएका छन्। सो अवधिमा साइबर अपराधसम्बन्धी १ सय ६१ वटा मुद्दा दर्ता हुँदा १ सय ५५ जना पक्राउ परेका छन्।
दर्ता भएका निवेदनमध्ये सबैभन्दा बढी फेसबुक तथा म्यासेन्जरको दुरुपयोगसम्बन्धी छन्। फेसबुक/म्यासेन्जरका ७ हजार १ सय २३, टिकटकका ६ हजार ७ सय ७६, ह्वाट्सएपका ३ हजार १ सय ५, टेलिग्रामका १ हजार ३१ र इन्स्टाग्रामका ६ सय २८ वटा निवेदन दर्ता भएका छन्।
त्यस्तै, इमेलका १ सय १४, युट्युबका ६४, इमोका ३८, भाइबरका २१, वीच्याटका १४, ट्विटरका ११ र गुगलसम्बन्धी ११ वटा निवेदन परेका छन्। ई–सेवा, खल्ती, बैंक खाता तथा एसएमएससँग सम्बन्धित ७ सय ४४ वटा र विभिन्न संस्थासँग सम्बन्धित ८ सय ४६ वटा निवेदन पनि प्रहरीमा दर्ता भएका छन्।
साइबर अपराधसम्बन्धी निवेदनको संख्या अघिल्ला वर्षहरूको तुलनामा पनि उच्च देखिएको छ। आर्थिक वर्ष २०८१/८२ मा १८ हजार ९ सय २६ र आर्थिक वर्ष २०८०/८१ मा १९ हजार ७ सय ३० वटा निवेदन प्रहरीमा दर्ता भएका थिए।
साइबर ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पछिल्ला दुई आर्थिक वर्षका उजुरीको प्रवृत्ति हेर्दा साइबर अपराधको स्वरूप पनि परिवर्तन हुँदै गएको छ। बैंक तथा वालेट कार्यालयबाट बोलेको भन्दै पीडितको बैंक खातामा पहुँच पुर्याउने, गिफ्ट, लोट्री वा पार्सल पठाएको बहानामा रकम असुल्ने, प्रेम सम्बन्धमा पारेर ठगी गर्ने तथा वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने प्रवृत्ति बढेको उनले बताए।
त्यस्तै, टेलिग्राम, ह्वाट्सएप र इन्स्टाग्राममार्फत अनलाइन जागिरको प्रलोभन देखाउने तथा अनलाइन सपिङका नाममा रकम असुल्ने घटनासमेत बढिरहेको प्रहरीको भनाइ छ।
प्रविधिको विकाससँगै अपराधका शैली र प्रवृत्तिमा आएको परिवर्तनले अनुसन्धानलाई थप चुनौतीपूर्ण बनाएको प्रहरी बताउँछ। यही चुनौतीलाई सामना गर्दै प्रविधिको प्रयोगबाट हुन सक्ने अपराधको रोकथाम तथा प्रभावकारी अनुसन्धान गर्ने उद्देश्यले नेपाल सरकारको २०७५ जेठ २७ गतेको निर्णयबाट साइबर ब्यूरो स्थापना गरिएको थियो।ब्यूरोलाई थप प्रविधियुक्त बनाउने, प्रहरी कर्मचारीको साइबर अपराध तथा सुरक्षा सम्बन्धी क्षमता अभिवृद्धि गर्ने र सर्वसाधारणमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने कामलाई पनि प्रहरीले प्राथमिकता दिँदै आएको छ।

