भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ ३१ साउनमा नेपाल आउने
काठमाडौं,२१ साउन । भारतीय सेनाध्यक्ष जनरल धीरज सेठ पाँच दिने औपचारिक भ्रमणका सिलसिलामा आगामी ३१ साउनमा नेपाल आउने भएका छन् ।

प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ ।
विगत सात दशकयता नेपाल र भारतबीच एकअर्काका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान परम्परा रहँदै आएको छ ।
नयाँ सेना प्रमुख नियुक्त भएपछि भ्रमण आदान–प्रदान गर्ने र मानार्थ महारथीको सम्मान प्रदान गर्ने अभ्यास छ ।
सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले भ्रमणको तयारी भइरहेको जानकारी दिँदै औपचारिक पुष्टि भएपछि विस्तृत कार्यक्रम सार्वजनिक गरिने बताएका छन् ।
नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललाई २७ मंसिर मंसिर २०८१ मा भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।भ्रमणका क्रममा जनरल सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने सम्भावना छ ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाइएको भए पनि भेट तय हुन बाँकी रहेको स्रोतले जनाएको छ ।गत १३ चैतमा बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार गठन भएपछि जनरल सेठ नेपाल भ्रमण गर्ने पहिलो उच्च भारतीय अधिकारी हुनेछन् ।
यसअघि भारतीय विदेश सचिव विक्रम मिस्रीको भ्रमण तय भए पनि अन्तिम समयमा आएर रद्ध भएको थियो ।

